आफूलाई सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । आफूलाई सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–४ बागडोलका ४२ वर्षीय सरल रानालाई महानगरीय अपराध महाशाखाको टोलीले आइतबार बागडोलबाट पक्राउ गरेको हो ।

रानासहित तीन जनाले काठमाडौंको त्रिपुरेश्वरस्थित किपु साइन्टिफिक ट्रेडर्समा मार्केटिङको काम गर्ने विश्वम्भरलाल श्रेष्ठ र विक्रम देउवालाई भारत पञ्जाबस्थित म्याड्रिड ह्युज हेल्थ केयर कम्पनीको नेपाल प्रतिनधि भएको र विभिन्न साइजका सर्जिकल ग्लोब्स उपलब्ध गराइदिने भन्दै बैंक अफ इण्डिया मालीगुडीको खातामा ४२ लाख २४ हजार रुपैयाँ जम्मा गर्न लगाएका थिए ।

तर उनीहरुले १०० प्रति ग्लोब्स भएको ८ हजार बक्स पठाइदिने भनेकोमा साइज, परिमाण र लेबल नभएको गुणस्तरहीन ५० प्रति ग्लोब्स भएको बक्स मात्रै पठाएर ठगी गरेको देखिएको महाशाखाले बताएको छ ।

पक्राउ परेका रानालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको र अन्य आरोपी उमेश नकर्मी र सन्दीप थापाको भने खोजी भइरहेको महाशाखाले जनाएको छ ।

२७,भाद्र.२०७८,आईतवार १८:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्