आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत आज नेपालले अमेरिकासँग खेल्दै

काठमाडौं । आजबाट ओमानमा सुरु हुने आईसीसी विश्वकप क्रिकेट लिग लिग टू अन्तर्गत त्रिदेशीय शृ‌खलाकाे पहिलाे खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।

कोरोना महामारीका कारण पूर्व निर्धारित तालिकामा असर परेपछि लिग टू अन्तर्गत ३६ मध्ये नेपालले आज पाँचौं खेल खेल्न लागेको छ । यसअघि करिव डेढ वर्षअघि नेपालमै भएको शृंखलामा घरेलु टोलीले चार खेलमा ४ अंक बनाएको छ । लिग टूको शीर्ष तीनभित्र रहेर एकदिवशीय विश्वकप खेल्ने आशा जगाउन नेपालका लागि यो शृंखला निकै महत्वपूर्ण छ ।

लिग टू मा अमेरिकाले अहिलेसम्म १२ खेल खेलेकोमा ६ खेलमा जित हासिल गरेको छ भने ६ खेलमा पराजय ब्यहोरेको छ । नेपालमा भएको शृंखलामा अमेरिकाले नेपालसँग दुई गरी चारै खेलमा पराजय ब्यहोरेको थियो ।

तर अमेरीका अन्तिमपल्ट फेब्रुअरी २०२० मा नेपाल आउँदा र अहिलेको टिममा निकै परिवर्तन भएको छ । त्यो बेला टिममा रहेका केहि खेलाडी अहिलेको टिममा छैनन् । यसका साथै यो पटक टिममा केहि युवा खेलाडीलाई समेटिएको छ भने दुई जनाले पहिलो पटक लिग टू मा डेब्यू गर्दैछन्।

यो पटक अमेरिकी टिम पूर्ण आत्मविश्वासका साथ ओमान पुगेको छ । पाकिस्तान र भारत र वेष्ट इन्डिजका खेलाडीको मिश्रण रहेको अमेरिकी टिमका कप्तान सौरभ नेत्रवाल्करले नेपाललाई सजिलो प्रतिद्धन्द्धी नभएपनि जित निकाल्नेमा विश्वस्त रहेको बताएका छन् ।

यता नेपाली टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरीले यो सिरिज खेल्न नसक्ने भएपछि टिमलाई ठूलो झट्का लागेको छ । उनको दायाँ खुट्टाको गोलीगाँठामा चोट लागेकाले केहि समय उनलाई आराम गर्नुपर्ने भएको छ ।

अमेरीकाविरुद्ध खेल्दा नेपालकालागि मुख्य हतियार स्पिनर सन्दिप लामिछाने, सोमपाल कामी र करण केसी हुन सक्छन । सन्दिपले घरेलु मैदानमा अमेरिकालाई ध्वस्त पार्न एक्लैले ६ विकेट लिएका थिए ।

नेपाल र अमेरीकाले एकदिवसिय मान्यता पाएपछि लिग टु सिरिजमा तेस्रो पटक खेल्न लागेका हुन । नेपालले यसअघि कीर्तिपुर मैदानमा पहिलो खेलमा ३५ रनले जितेको थियो भने दोस्रो खेलमा ८ विकेटले हराएको थियो । नेपाल र अमेरिकाबीच सन् २००८ मै एकदिवशीय खेल भएको थियो ।

डिभिजन ५ देखिका प्रतिद्वन्द्वी नेपाल र अमेरिकाले ५० ओभरमा ६ पटक खेलेका छन । जसमा तीन खेल नेपालले जितेको छ भने अमेरीकाले तीन खेल जितेको छ । नेपाल र अमेरिकाबीच ओमान क्रिकेट एकेडेमीको मैदानमा आजका खेल नेपाली समय अनुसार अपराह्न सवा चार बजेबाट सुरु हुनेछ ।

२८,भाद्र.२०७८,सोमबार १०:५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्