वीरगञ्जमा भएको बम विस्फोटको घटनाका मुख्य अभियुक्त पक्राउ

वीरगञ्ज । २०७६ साउन २४ गते वीरगञ्जमा भएको बम विस्फोटको घटनाका मुख्य अभियुक्त पक्राउ परेका छन् । प्रहरीले विवेक सिंह उपनामले चिनिने ३३ वर्षीय फुलहसन अन्सारीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

सोमबार बिहान ४ बजे वीरगञ्ज महानगरपालिका–२४ रामगढवास्थित आफ्नो घर आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

‘वीरगञ्जमा पटक पटक भएको विष्फोटको घटनाका मुख्य योजनाकार उनी नै भएको भन्ने खुलेको छ’ उनले भने । अन्सारीले नेपाली व्यापारीलाई धम्की दिने र फिरौती लिने जस्ता काम पनि गरेको खुलेको एसपी पाण्डेले बताए ।

उनीविरुद्ध विष्फोटक पदार्थ, हातहतियार तथा खरखजाना र संगठित अपराधसम्बन्धी मुद्दा पर्सा जिल्ला अदालतमा विचाराधीन छ ।

०७६ साउन २४ गते साँझ ७ बजे वीरगञ्जको बिर्ता बजारमा र साउन २८ गते बेलुका सवा ८ बजे घण्टाघर नजिकको तरकारी बजारमा सुतली बम पड्काएको घटना उनको योजनामा भएको प्रहरीको भनाइ छ ।

अन्सारीले पर्साको तत्कालिन रामगढवा गाविस–८ स्थायी ठेगाना उल्लेख भएको गरिएको नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । तर अनुसन्धानको क्रममा उनले भारत बिहार, पूर्वी चम्पारण, आदापुर, श्यापुर ग्राम पञ्चायतमा आफ्नो नाम र पहिचान ढाँटेर आधार कार्ड बनाएको पनि पाइएको छ ।

जेलबाट छुट्दै अपराध गर्दै

अन्सारी ०६५ पुस ७ गते वीरगञ्जका व्यापारी राजेश क्यालको गोली हानी हत्या भएको घटनामा संलग्न थिए । उनलाई प्रहरीले ०६५ पुष १६ गते घटनामा प्रयोग भएको हतियारसहित पक्राउ गरेको थियो । उनलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

कैद भुक्तान गरिरहेको समयमा उनी २०७४ सालको दशैँमा ५६ प्रतिशत कैद मिनाहा भई कारागार कार्यालय पर्साबाट थुनामुक्त भएका थिए । त्यसपछि उनी पुनः आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको भनाइ छ ।

फुलहसनले वीरगञ्ज महानगरपालिका– २० अपौनीका विदेशी साहको समूहमा आवद्ध भई थुप्रै आपराधिक घटना घटाएको प्रहरीले बताएको छ ।

२८,भाद्र.२०७८,सोमबार १८:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्