पदलाई महत्व दिनेले पार्टी फुटाए : भीम रावल

धनगढी । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे कार्यान्वयन भइसकेको अवस्थामा पार्टी फुटाउनुको कुनै अर्थ नभएको बताएका छन् । देश र जनताभन्दा पदलाई महत्व दिनेहरुले पार्टी फुटाएको उनको आरोप छ ।

पार्टी विभाजनपछि पहिलो पटक धनगढी आएका नेता रावलले धनगढीस्थित कैलालीको पार्टी कार्यालयमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरे ।

‘पार्टीको केन्द्रीय उपाध्यक्ष, सुदूरपश्चिमको समन्वय कमिटीको संयोजकको हैसियतले एमालेबाट उछिट्टिएर भ्रममा परेर जानुभएका व्यक्तिहरु र हाल एमालेमै रहेका कमरेडहरुलाई आह्वान गर्न चाहन्छु, विगतको कुरा बिर्सिदिनुस् अब,’ रावलले भने, ‘सबै एकताबद्ध भएर अगाडिको गन्तव्य हेर्नुस् । स्थानीय चुनाव र आम चुनाव हेरौं । स्वदेशी, विदेशी षड्यन्त्रलाई चकनाचुर पार्न एमालेमा फर्किन सकिन्छ ।’

नेता रावलले कसैले कसैलाई इञ्चार्जबाट हटाएको कुरामा सत्यता नभएको दाबी गर्दै अहिले आफू एमालेको उपाध्यक्ष र सुदूरपश्चिम संयोजकको हैसियतमा काम गरिरहेको बताए ।

मंगलबार महेन्द्रनगर पुगेर एमालेका अर्का नेता लेखराज भट्टले पार्टीको सुदूरपश्चिम इन्चार्ज आफू नै भएको बताउँदै रावलसँग कुनै मतभेद नरहेको प्रतिक्रिया दिएका थिए ।

२९,भाद्र.२०७८,मंगलवार १७:२९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्