पेट दुख्ने समस्या भएकी महिलामाथि बोक्सी आरोपमा काठमाडौंमै कुटपिट

काठमाडौं । पेट दुख्ने समस्या भएकी महिलामाथि बोक्सी आरोपमा काठमाडौंमै कुटपिट भएको छ । कुटपिटमा संलग्न धामीसहित ४ जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख अशोक सिंहले बताए ।

उनका अनुसार पक्राउ परेकामा पीडित महिलाकी श्रीमान्, धामी दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डे छन् ।

‘स्वयम्भूको ठूलो भर्‍याङमा ९ दिनअघि भएको घटनाबारे जाहेरी परेपछि पक्राउ गरिएको हो,’ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिंहले भने, ‘बोक्सी आरोपसम्बन्धी कसूरमा ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।’

प्रहरीका अनुसार ट्याक्सी चालक रहेका पीडितको श्रीमान्ले उपचारका लागि भन्दै थिङ कहाँ लगेका थिए । थिङले महिलालाई बोक्सी चढेको बताएपछि श्रीमानसहित महर्जन र पाण्डेले पनि कुटपिट गरेको पीडितको जाहेरीमा उल्लेख छ ।

प्रहरीकहाँ जाहेरी दिन आउँदा महिलाको शरीरमा निलडाम रहेको सिंह बताउँछन् । ‘घाउ जाँच गराएर प्रतिवेदन तयार गरेपछि उहाँ अहिले घरमै हुनुहुन्छ,’ उनले भने ।

२९,भाद्र.२०७८,मंगलवार १८:१८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्