पोखरा महानगर क्षेत्रका निजी तथा सामुदायिक स्कुलहरु असोज १ देखि खुल्ने

पोखरा। पोखरा महानगर क्षेत्रका निजी तथा सामुदायिक स्कुलहरु असोज १ देखि खुल्ने भएका छन् । महानगरको नगर शिक्षा समितिको आइतबार बसेको बैठले स्कुल खोल्न दिने निर्णय गरेको हो ।

पोखरा नगरपालिकाले जारी गरेको सूचना अनुसार स्कुल सञ्चालन गर्दा कक्षाकोठा, फर्निचर, शौचालय, यातायातका साधन तथा विद्यालय प्रांगण पूर्णरुपमा निर्मलीकरण गरेर मात्र सञ्चालन गर्न पाइनेछ ।

‘विद्यार्थी धेरै भएका विद्यालयल भौतिक दूरी कायम गर्न जटिलता भएमा फरक दिन फरक कक्षा सञ्चालन गर्न सक्ने,’ जारी सूचनामा भनिएको छ, ‘भौतिक दूरी कायम गरेर सबै कक्षा एकैचोटि सञ्चालन गर्न असम्भव भएमा फरकफरक दिनमा कक्षा कोठामै पठनपाठन गराउन सकिने छ ।’ विद्यालयमा मास्क, साबुन, पानी, सेनिटाइजर अनिवार्य गरिएको छ ।

विद्यालय खुले पनि नियमित प्रार्थना, खेलकुद लगायत भिडभाड हुने कार्यक्रम नगर्न महानगरको सूचनामा उल्लेख गरिएको छ । गण्डकीका बागलुङ, पर्वत, म्याग्दी लगायत जिल्लालेसमेत असोजदेखि भौतिक उपस्थितिमा नियमित पठनपाठन सुचारु गर्न निर्देशन दिएका छन् ।

पोखरामा बुधबारसम्म ८ सय ७८ जना कोरोनाका सक्रिय संक्रमित छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार हालसम्म कास्कीका ५ सय ७३ जना संक्रमितको ज्यान गइसकेको छ ।

३०,भाद्र.२०७८,बुधबार १६:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्