निजी औषधी पसलमा भेटियो कोभिडविरुद्धको ६ भायल खोप

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकास्थित एक निजी औषधी पसलमा कोभिड-१९ विरुद्धको खोप फेला परेको छ । नगरपालिका ३ यदुकोहाको श्रीराम मेडिकलमा ६ भायल खोप फेला परेको हो । गोप्य सूचनाको आधारमा अनुगमन गर्दा खोप भेटिएका मेयर उदय कुमार बरबरियाले जानकारी दिए ।

उनका अनुसार भेरोसेल ४ भायल, जोन्सन एण्ड जोन्सन १ भायल र अस्ट्राजेनेका १ भायल फेला परेको छ । खोप भेटिएपछि पसल संचालक कमलेश मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खोप फेला परेको औषधी पसल नजिकै प्राथमिक स्वास्थ्य केन्द्र छ । केन्द्रका स्वास्थ्यकर्मीले नै निजी औषधी पसललाई बेचेको हुनसक्ने अनुमान गरिएको छ । तर, खोप फेला परेको घटनालाई ढाकछोपको प्रयास भइरहेको स्रोतले जनाएको छ ।

इलाका प्रहरी कार्यालय यदुकोहाका प्रहरी निरीक्षक सम्पित भण्डारीले स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुलाई सोधपुछको लागि बोलाएका छन् । डीएसपी जितेन्द्र बस्नेतले औषधी पसलमा खोप बरामद भएपछि सञ्चालकलाई पक्राउ गरिएको पुष्टि गरे । प्रहरीले यसबारे छानविन थालेको छ ।

३१,भाद्र.२०७८,बिहीबार १५:४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्