यसरी ठड्याइयो इन्द्रजात्राको लिङ्गो (तस्वीरहरू)

काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान शनिबार बिहान गरिएको छ। ६:५१ बजेको शुभ साइतमा इन्द्रध्वजोत्थान गरिएको हो।

इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन असोज ३ गते कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ। असोज ४ गते माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए। असोज ८ गते नानिचा यात्रा गरिनेछ। त्यसै दिन राति १०ः३६ बजे इन्द्रध्वज पतन अर्थात् लिङ्गो ढालिने साइत छ। यसरी करिब १५ दिन लामो इन्द्रजात्राको कार्यक्रम समापन गरिन्छ।

कोरोना महामारीका कारण गत वर्ष पूजा आराधनामात्र गरेर यात्रा स्थगित गरिएको थियो। यस वर्ष सरोकार भएका निकायको बैठकले स्वास्थ्य मापदण्ड पालना गरी न्यूनतम उपस्थिति गराएर जात्रा गर्न लागिएको गुठी संस्थान काठमाडौँ कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए।

भदौ २३ गते बुधबार बिहान १०ः५२ मा वनयात्रा गरी इन्द्रजात्राका कार्यक्रमको सुरुआत भएको थियो। त्यसै दिन बेलुकी बेलुकी ७ः२७ मा लिङ्गोका लागि रुख काटिएको थियो। लिङ्गोका लागि रुख काट्नेलगायत सबै साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए। भदौ २९ गते बिहान १०ः३४ बजे भोटाहिटीबाट लिङ्गो नगर प्रवेश गराइएको थियो।

इन्द्रजात्रा सुरु भएका विषयमा विभिन्न किम्बदन्ती प्रचलित छ। एउटा भनाइअनुसार वर्षा राम्रोसँग सम्पन्न भई बाली लगाइएकाले अब बिदा लिनुस् भनी वर्षा अन्त्यको कामना गर्न यो जात्रासँगै विभिन्न देवीदेवताको नाच देखाइने विश्वास गरिने हनुमानढाकोका मूल पुरोहित देवराज अर्यालले बताए।

२,आश्विन.२०७८,शनिबार ०९:२४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्