पार्टी भित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढीरहेको छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनभित्र रहेका केही दलभित्रकाे आन्तरिक व्यवस्थापनकाे अलमलका कारण मन्त्रीपरिषद विस्तारमा ढिलाई भएको बताएका छन् । शनिबार गणेशमान सिंहकाे २५ ओैं स्मृति दिवसकाे अवसरमा गणेशमान सिह फाउन्डेसनले शोभाभगवतीमा आयाेजना गरेकाे कार्यक्रममा नेता सिंहले गठबन्धनमा भएका दलहरु विच कुरा नमिल्दा मन्त्रीपरिषद विस्तार हुन ढिलाई भएकाे बताए । उनले अब छिटै सरकारले पूर्णता पाउने बताए ।

कम्युनिष्टहरुको दुई तिहाईको सरकारले जनताको मर्म र भावनामा लगातार प्रहार गरेपछि गठबन्धन निर्माण भएकाे सिंहको भनाइ छ । उनले कम्युनिष्टहरू असफल हुँदा त्यसको प्रतिफल स्वरुप नेपाली काँग्रेसले सरकारको नेतृत्व गर्ने अबसर पाएको बताए । काँग्रेस नेतृत्वको सरकारले जनताको भावना अनुसार काम गर्नेमा विश्वास रहेको उनको भनाई थियो ।

नेता सिंहले पार्टीको १४ औं महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताए । उनले पार्टी भित्र विवाद र अलोकतान्त्रिक गतिविधी बढीरहेको भन्दै विवाद भएका जिल्लामा विधिविधान अनुसार समाधान गर्नुपर्ने बताए ।

‘ पार्टी भित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढीरहेको छ,’ उनले भने, ‘महाधिवेशन निष्पक्ष तवर गर्नु पर्दछ । विवाद भएका जिल्लामा विधिविधान अनुसार समाधन गर्न सभापति लगायत सम्पूर्ण नेताहरु लाग्नु पर्दछ ।’

अर्को प्रसङ्गमा नेता सिंहले साझा उम्मेदवारको सम्भावना अझै नसकिएको भन्दै त्यसका लागि निरन्तर छलफल भइरहेको जानकारी दिए । तर आफू सभापतिको उम्मेदवारबाट पछि नहट्ने उनको भनाइ छ ।

२,आश्विन.२०७८,शनिबार ११:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्