काठमाडौं । शनिवार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले सेटिङमा भन्सार छुट दिने गरेर अर्बौंको चलखेल गरेको बताएका हुन् ।
आम मानिस र सञ्चार माध्यमले समेत सरकारको सेटिङको बारेमा कुरा उठाइरहेको भन्दै उनले सरकारले सेटिङ गरेको छैन भन्ने ठाउँ नरहेको पनि उल्लेख गरे ।
उनले भने, ‘आज देखिन थाल्या छ, सोझै सेटिङमा कसलाई भन्सार छुट दिने, कसलाई भन्सार नदिने, के गर्ने कसो गर्ने भन्ने यो अरबौँको खेल भइसक्यो । कसरी यतिबेर यो बिचमा आएर करका दरहरु यत्रो ठुलो ढंगले देशलाई करोडौँको, अर्बौंको मात्र होइन खर्बौको तलमाथि पर्नेगरी कसरी हेरफेर गरियो ? सबै सेटिङ होइन भन्न सकिने ठाउँ छैन । मान्छेहरु खुलेआम भनिराखेका छन् यो सेटिङ हो सञ्चार माध्यम लेखिराखेको छ बोलिराखेको छ सेटिङ भयो । भएन भन्ने ठाउँ छैन । म राष्ट्रसेवक कर्मचारी मित्रहरूलाई, तपाईहरुलाई भन्न चाहान्छु खासगरी नेपाल निजामती कर्मचारी संगठन स्वच्छताको प्रतीक संगठन बन्नुपर्छ ।’
अध्यक्ष ओलीले सत्ता गठबन्धन फ्रिजबाट निकालिएका आइसका डल्ला जस्तै भएको टिप्पणी गरे । चुनावमा जाँदा प्रतिगमन भनेर वर्तमान गठबन्धन पन्छिएको भन्दै उनले १४ महिनापछि बाध्यकारी रुपमा चुनाव गर्नुपर्ने र चुनावपछि यो गठबन्धन फ्रिजबाट निकालिएको आइसको डल्ला जस्तै पग्लिने बताए ।
अध्यक्ष ओलीले आफ्नो पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुलाई जुनसुकै पार्टीको भएपनि वर्तमान सरकारलाई सहयोग गर्न निर्देशन दिए ।
कर्मचारीहरुले कुनै पार्टीको सदस्य नभएर राष्ट्रको सेवकको रुपमा सेवा पु¥याउनुपर्ने उनले बताए । सेवाग्राहीको सेवा पाउने अधिकार भएकाले कर्मचारीको सेवा दिनुपर्ने कर्तव्य ठानेर काम गर्न उनले आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्