सीडीओले शारीरिक रुपमा अशक्त एक महिला र उनका श्रीमानलाई घरमै पुगेर दिए नागरिकता

सप्तरी । शारीरिक रुपमा अशक्त एक महिला र उनका श्रीमानलाई जिल्ला प्रशासन कार्यालय सप्तरीले घरमै गएर नागरिकता प्रमाणपत्रको प्रतिलिपि प्रदान गरेको छ ।

सप्तरीको रुपनी गाउँपालिका–५ बसविट्टीकी ७० वर्षीया श्रीमती दसनीदेवी खत्वे र उनका श्रीमान् ७४ वर्षीय मुसहरु खत्वेलाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आइतबार स्रविधान दिवसका दिन घरमा पुगेर नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि दिएका हुन् ।

प्रजिअ गौतमको टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी नाथु साह र प्रशासकीय अधिकृत कल्पना मानन्धर पनि सहभागी थिए ।

दम र पक्षघातबाट पीडित दसनी हिँडडुल गर्न नसक्ने भएकाले आफूले घरमै पुगेर नागरिकताको प्रतिलिपि प्रदान गरेको प्रजिअ गौतमले बताए । अपाङ्गता भएकी र बिरामी ज्येष्ठ नागरिकलाई घरमै सीडीओले आएर नागरिकता प्रदान गरेकोमा खुशी लागेको उनकी बुहारी तारादेवीले बताइन् ।

दसनी २० वर्षदेखि पक्षघात भई हिँडडुल गर्न असमर्थ रहेको र राजविराज पुगेर प्रतिलिपि निकाल्न नसक्ने भन्दै तारादेवीले जिल्ला प्रशासन कार्यालयमा आग्रह गर्दै आएकी थिइन् । तारादेवी श्रीमान् उत्तिम खंगको १० वर्ष अघि मलेसियामा मृत्यु भएपछि सासू ससुरालाई स्याहार गरेर बसिरहेकी छन् । तारादेवीका दुई छोरा र एक छोरीमध्ये जेठा छोरा पढाइ छाडेर काठमाडौंमा सिलाइकटाइको काम गरिरहेका छन् । अर्का छोरा कक्षा ८ मा र छोरी कक्षा ९ मा गाउँकै विद्यालयमा अध्ययनरत छन् ।

आर्थिक रुपमा गरिब र विपन्न खत्वे दम्पतीका अन्य तीन छोरा घर छाडेर बाहिर ज्याला मजदुरी गरिरहेको स्थानीयवासी मुसहरुले जानकारी दिए । पक्षघात भएपछि दसनीको उपचारको लागि धेरै खर्च गरे पनि निको नभएको उनको भनाइ छ ।

मुसहरुले २०३९ माघ २१ गते ३५ वर्षको हुँदा नागरिकता लिएका थिए । उनकी श्रीमती दसनीले २०३९ माघ २५ गते ३१ वर्षको हुँदा नागरिकता लिएकी थिइन् । तत्कालीन जिल्ला प्रशासन कार्यालयका कर्मचारीको लापरबाहीले दुवै जनाको नागरिकता नम्बर एउटै भएकाले राष्ट्रिय वाणिज्य बैंकले कारोबार गर्न असमर्थता जनाएपछि उनीहरुलाई समस्या परेको थियो ।

सामाजिक सुरक्षा भत्ताबाट घर चलिरहेको बताएकी तारादेवीले बैंकले पैसा दिन अस्वीकार गरेपछि रुँदै कराउँदै जिल्ला प्रशासन कार्यालय धाइरहेको बताइन् । नागरिकता नम्बरका कारण बैंकको खाता नम्बरमा समेत समस्या आएपछि मलेसियाबाट आउने पैसासमेत रोकिएको उनको भनाइ छ ।

अहिले नागरिकताको प्रतिलिपिमा नम्बर फरक पारेपछि मलेसियामा मृत्यु भएका छोरा कार्यरत कम्पनीबाट बीमाबापत पाउने सात लाख रुपैयाँ आउने बाटो खुलेको तारादेवीले बताइन् ।

३,आश्विन.२०७८,आईतवार १५:५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्