नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी महाधिवेशनबाटै निर्वाचित हुने

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै रहने भएङ्को छ ।

नवौं महाधिवेशन देखि एमालेमा उमेर हद कायम गरिएको थियो । तर अध्यक्ष केपी शर्मा ओलीले यसअघि उमेर हदको प्रबन्ध हटाएका थिए । ‘उमेर हद र कार्यकारी पदमा दुई पटक भन्दा बढी दोहोरिन नपाउने प्रस्ताव कायमै छ’, एक स्थायी कमिटी सदस्यले भने । एमालेमा एउटै पदमा दुई पटक भन्दा बढी दोहोरिन नमिल्ने व्यवस्था छ ।

पार्टीको सबै पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था समेत फेरि राखिएको छ । दश बुँदे सहमति कार्यान्वयनको निर्णय हुनुअघि ओली तर्फका नेताहरु मात्रै सामेल बैठकले भने पार्टी अध्यक्ष मात्रै महाधिवेशनबाट निर्वाचित हुने प्रस्ताव गरेको थियो ।

पदाधिकारी भने अध्यक्षले मनोनित गर्ने प्रस्ताव थियो । तर आइतबार स्थायी कमिटी बैठकमा पेश भएको प्रस्तावमा भने सबै पदाधिकारी महाधिवेशनबाटै निर्वाचित हुने उल्लेख गरिएको छ ।

१५–१७ असोजमा हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदन माथि आइतबारदेखि छलफल शुरु भएको छ । आइतबारको स्थायी कमिटी बैठकमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरु अमृतकुमार बोहरा, केशव बडाल र पुष्प कँडेलले प्रस्तावमाथि टिप्पणी राखेका छन् ।

विधान महाधिवेशनमा पेश गरिने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव माथि सोमबार पनि छलफल हुनेछ ।

३,आश्विन.२०७८,आईतवार १८:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्