अमेरिका जान पाउने लोभमा नेपाल आउँछन, रोहिङ्ग्या, यसरी लोभमा पारेर ल्याउने ३ जना पक्राउ

काठमाडौं । बंगलादेशमा रहेका रोहिङ्ग्या शरणार्थीलाई अमेरिका पठाउने प्रलोभन देखाएर नेपाल ल्याएको आरोपमा प्रहरीले दुई वर्मेली र एक बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।

बंगलादेशको शरणार्थी शिविरमा रहेका रोहिङ्ग्या शरणार्थीलाई प्रलोभन देखाएर नेपाल ल्याएको आरोपमा वर्मेली नागरिक २७ वर्षका नरुल अमिन र २७ वर्षका सफिक आलम तथा बंगलादेशी नागरिक ३० वर्षका अजमत उल्लाह पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीका अनुसार काठमाडौंमा कपडा बेच्दै हिँड्ने वर्मेली नागरिक नरुल अमिन सोमबार पक्राउ परेका हुन् । त्यस्तै सामाखुशीको कान्तिपुर हार्डवेयरमा काम गर्ने वर्मेली नागरिक सफिक र टंकेश्वरमा कपडा पसल सञ्चालन गर्ने वंगलादेशी नागरिक अजमत असोज २ गते पक्राउ परेका हुन् ।

उनीहरुले २० दिनअघि १४ जना रोहिङ्ग्या शरणार्थीलाई नेपाल ल्याएको पाइएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । ‘ अहिलेसम्म यी तीन जनाले १४ जनालाई ल्याएको बुझिन्छ, अरु खुल्दै जाला, उनले भने ।

रोहिङ्ग्या शरणार्थीलाई नेपालबाट अमेरिका, युरोप लगायतका देश पठाइदिने, नेपाल पुगेपछि अमेरिका जाने परिचय पत्र पाइने, मासिक भत्ता पनि राम्रो पाइने भनी प्रलोभन देखाई ढाकादेखि काठमाडौं ल्याएको २ लाख ५० हजार टाका (बंगलादेशी मुद्रा) लिएको पाइएको सीआईबीले जनाएको छ ।

रोहिङ्ग्या शरणार्थीलाई प्रलोभन देखाएर उनीहरुसँग भएको सम्पत्ति हात पार्ने र नेपालमा ल्याएर छाड्ने गरेको हुन सक्ने प्रहरीको आशंका छ । उनीहरुलाई सीआईबीले प्रहरीकै मानव बेचविखन ब्यूरोमा पठाएको छ ।

४,आश्विन.२०७८,सोमबार १९:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्