प्रेमीसँग मिलेर भारतमा पतिको हत्या, फोन डायरीले पोल खुल्यो

काठमाडौं । भारतको विहार जयनगरस्थित वरही गाउँको नहरमा भदौ १८ मा एक नेपालीको शव भेटियो । घाँटी काटेर हत्या गरेको अवस्थामा भारतीय प्रहरीले सिराहा गोलबजार घर भएका ३९ वर्षीय व्यक्तिको शव फेला पारेको थियो ।

नहरमा मृत फेला परेका व्यक्तिको गोजीमा सानो डायरी थियो । डायरीमा नोट गरिएको फोन नम्बरका आधारमा मृतक नेपाली भएको पहिचान खुल्यो । उनी सिराहाको गोलबजार नगरपालिका–४ निपनिया कुटी टोल निवासी दुखरन महरा थिए ।

भारतीय प्रहरीको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिराहाले हत्याबारे अनुसन्धान थाल्यो । उनको पोष्टमार्टम भने भारतमै गरियो । घटनाको अनुसन्धान हुँदै जाँदा भारतीय प्रेमीसँग मिलेर आफ्नै पत्नीले दुखरनको हत्या गराएको प्रहरीको ठहर छ ।

ऋण खोजेर सुपारी, फोन डायरीले पोल खुल्यो

दुखरन महरा मोची १० वर्ष पहिले वैदेशिक रोजगारीका लागि कतार गएका थिए । कतारबाट फर्केपछि गोलबजारस्थित घरमा फर्निचर र किराना पसल खोलेर उनले जीवन चलाइरहेका थिए । पति–पत्नीसँगै उनीहरुका चार सन्तान छन् ।

विदेशबाट पठाएको हरहिसाबबारे उनीहरुबीच बेलाबखत झगडा भइरहन्थ्यो । रीसको झोंकमा दुखरनले किराना पसलका समान फालिदिन्थे । एकचोटि उनले पसलमा आगो लगाउन खोजेपछि हरिहरदेवीले आत्महत्याको प्रयाससमेत गरेकी थिइन् । तर, बच्चाको भविश्य सम्झेर सम्हालिइन् । प्रहरीका अनुसार यही घरायसी विवादकै क्रममा उनले पतिलाई मार्ने योजना बनाइन् ।

दुई वर्षअघि हरिहरदेवी पाठेघरको अप्रेशन गर्न भारतको जयनगरस्थित अस्पतालमा गएकी थिइन् । त्यहीबेला एम्बुलेन्स चालक मुकेश यादवसँग उनको चिनजान भयो । भारतीय नागरिकसँगको सो चिनजान बिस्तारै ‘प्रेम’मा परिणत भयो ।

प्रहरीको भनाइ अनुसार भदौको दोस्रो साता हरिहरदेवीले मुकेशलाई फोन गरेर भनिन्, श्रीमानले धेरै दुःख दियो, उसलाई मार्नुपर्ने भयो ।

प्रेमीले हत्याका लागि १ लाख भारतीय रुपैयाँ लाग्ने प्रस्ताव गरे । योजना सफल बनाउन ४० देखि ५० हजार रुपैयाँसम्म खर्च गर्न हरिहरदेवी सहमत भइन् । र, उनले पतिसँग सल्लाह गरिन्, घर खर्चको अभाव भयो, ऋण निकालौं ।

श्रीमानसँग सल्लाह गरेर उनी भदौ १७ मा गोलबजारस्थित छिमेक लघुवित्तबाट ६० हजार ऋण निकाल्न सफल भइन् । त्यसलगत्तै उनले भनिन्, मलाई सञ्चो भएन, जयनगर गएर उपचार गरौं ।

श्रीमानलाई फकाएर भारत लिएर हिँडेकी हरिहरदेवीले सिराहाको माडरमा पुगेपछि प्रेमीलाई सुटुक्क फोन गरिन्, ‘हामी भारत आउँदैछौं, आवश्यक रकम पतिको खल्तीमा छ ।’

भदौ १७ मा साँझ ६ बजे उनीहरु जयनगर रेलवे स्टेशनमा पुगे । चिया पसलमा प्रेमी मुकेश यादव (२६ वर्ष) आए । सँगै बसेर चिया खाएपछि दुखरनलाई ‘नास्ता गर्न जाउँ’ भनेर मुकेशले बुलेट मोटरसाइकलमा चढाएर लगे । मुकेश मधुवनी जिल्लाका स्थानीय हुन् ।

मुकेशले वरही गाउँस्थित नहरमा लगेर अरु दुईजनालाई बोलाएर दुखरनको हत्या गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ । हत्यापछि उनको गोजीमा रहेको ६० हजार रुपैयाँ मुकेशले लगेका थिए । मुकेशलाई अहिले भारतीय प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको डीएसपी सुवास बुढाथोकीले बताए ।

हत्यामा संलग्न अरु दुईजना भारतीय नागरिकहरु भने फरार छन् । श्रीमानको हत्या भएको रात हरिहरदेवी भारतमै बसिन् र भोलिपल्ट जयनगरबाट आफ्नो घर गोलबजार फर्केको प्रहरीको भनाइ छ ।

सिराहा गोलबजार नगरपालिका–४ निपनिया कुटी टोल बस्ने दुखरनकी पत्नी हरिहरदेवी महरा (३८ वर्ष) ले शुरुमा आफ्नो पतिको हत्याबारे अनभिज्ञता देखाइन् । उनले प्रहरीसँग भनिन्, ‘ऋण निकालेर मोटरसाइकल किन्न जानुभएको थियो, म म्याजिक चढेर पछिपछि गएँ, जयनगर रेलवे स्टेशनमा गएर खोजेँ तर, भेटिनँ ।’

भदौ १७ मा दुखरन पत्नी हरिहरदेवीसँगै भारततर्फ लागेको सुराक पाएपछि सोही आधारमा प्रहरीले हरिहरदेवीमाथि अनुसन्धान केन्द्रित गरेको थियो । हत्यामा पत्नीको पनि संलग्नता देखिएपछि हरिहरदेवीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता (डीएसपी) सुवास बुढाथोकीले बताए । अहिले हरिहरदेवी जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासतमा छिन् ।

५,आश्विन.२०७८,मंगलवार १३:५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्