काठमाडौ । काठमाडौ रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका १० का वडाअध्यक्ष रमजान अलि मियाँ र अरू कर्मचारीले एक वृद्धको जग्गा किर्ते गरी अर्कैलाई बेचिदिएको पाइएको छ।
नगरपालिकाको वडा नम्बर १० मधुवनीका ६९ वर्षीय गरीब कोहारले वडाध्यक्ष रमजान अलि मियाँ र कर्मचारीहरू मिलेर किर्ते गरी आफ्नो जग्गा बिक्री गरिदिएको भन्दै प्रहरीमा उजुरी दिएका छन्।
कोहारको नाममा लुम्बिनी सांस्कृतिक नगरपालिका १० मधुवनीमा कित्ता नम्बर ४८८ मा नौ कठ्ठा एक धुर र कित्ता नम्बर ५०७ मा एक कठ्ठा १६ धुर जग्गा थियो।
गत वर्ष कोहारले रोजगारीको लागि भारतको दिल्ली गएका आफ्ना छोरालाई नेपालमै बोलाएर व्यापार गर्न लगाउने सोच बनाएका थिए। व्यापार गर्न पैसा नभएपछि उनले त्यही जग्गा बैंकमा धितो राखेर ऋण निकाल्ने योजना बनाए।
माघमा उनी चारकिल्ला बनाइदिन भन्दै वडा कार्यालयमा गए। तर वडाध्यक्ष मियाँले चारकिल्ला बनाई दिएनन्।
कोहार भोलिपल्ट स्थानीयलाई लिएर फेरि चार किल्लाको लागि वडा कार्यालयमा पुगे।
वडाध्यक्ष मियाँले उल्टै स्थानीयलाई पनि नचिन्ने भन्दै धम्क्याए, त्यो बेला हाम्रो भनाभनसमेत भएको थियो, कोहारले भने।
गएको साउनमा ग्लोबल आइएमई बैंकका कर्मचारिहरू धितो मूल्याङ्कन गर्न भन्दै उनको जग्गा नापजाँच गर्न आएका थिए। त्यसपछि उनको जग्गा अर्कै मान्छेले आफ्नो बनाएर नापजाँच गरायो भन्ने हल्ला फैलियो।
कोहारको ससुराली भारतको कोहरपुरवा हो। उनी धेरैजसो समय ससुरालीमै बस्दै आएका थिए। नेपालमा भएको घर भत्किएपछि घर आएको बेला पनि उनी मधुवनीमै रहेको बहिनीको घरमा बस्छन्। सोही कारण पनि वडाध्यक्ष मियाँलाई कोहारको जग्गा बिक्री गर्न सहज भएको स्थानीय शत्रुधन तिवारी बताउँछन्।
छिमेकीको सहयोगमा कोहारले जग्गाबारे सोधीखोजी सुरू गरेका थिए।
सोधीखोजी गर्दै जाँदा वडाध्यक्ष मियाँले नक्कली गरिब कोहार खडा गरेर उनको जग्गा बेचिदिएको पत्ता लाग्यो।
नक्कली मान्छे खडा गरी मेरो नागरिकताको प्रतिलिपी निकालेर अर्कैलाई जग्गा बेचिसकेका रैछन्, कोहारले भने, मलाई चार किल्ला नदिनुको कारण बल्ल थाहा पाएँ।
फागुन १८ गते उनको जग्गा बिक्री भइसकेको मालपोत कार्यालयको रेकर्डमा उल्लेख छ।
मालपोतको रेकर्डमा कोहारको जग्गा फागुन १८ मा पाल्पाको मदनपोखरा ४ निवासी सन्दीप कार्कीलाई पहिलो पटक बिक्री गरेको देखिन्छ।
सन्दीपले मालपोत कार्यालय रूपन्देहीमा १९ लाख ६७ हजार रुपैयाँ थैली राखेर उक्त जग्गा खरिद गरेको देखिएको छ।
फागुन १८ जग्गा खरिद गरेका सन्दीपले पनि दुई महिना नपुग्दै उक्त जग्गा अर्कैलाई बेचे।
उनले २०७८ वैशाख १२ गते कपिलवस्तुको यशोधरा गाउँपालिका ८ का गोविन्दप्रसाद मल्लाहलाई बिक्री गरेको मालपोत कार्यालयको रेकर्डमा छ।
मल्लाहले १ करोड ९५ लाख रुपैयाँको थैली राखेर उक्त जग्गा खरिद गरेका छन्। मल्लाहले सोही जग्गालाई धितो राखेर ग्लोबल आइएमई बैंक तौलिहवा शाखाबाट ऋण निकालेपछि कोहारले बल्ल आफ्नो जग्गा किर्ते गरी अन्य व्यक्तिले खरिद बिक्री गरेको पत्तो पाएका थिए।
बैंकले उक्त जग्गा धितो राखी मल्लाहलाई १ करोड ५० लाख रुपैयाँ ऋण दिएको छ। उक्त स्थानमा अहिले प्रतिकट्ठा १०र१२ लाख रुपैयाँमा जग्गा खरिद बिक्री हुने गरेको छ।
६ महिनाको बीचमा दुई दुई जनाको नाममा पास गरिएको जग्गा धितो राखी ठूलो रकम ऋण प्रवाह गर्ने बैंकको नियतमाथि पनि स्थानीयले प्रश्न गरेका छन्।
जग्गाधनी कोहारले वडाध्यक्ष, लेखापढी व्यवसायी र मालपोतका कर्मचारीको समेत मिलेमतोमा आफ्नो जग्गा बिक्री गरिएको आरोप लगाए।
मालपोत कार्यालयको रेकर्डअनुसार वडा नम्बर १० कार्यालयले नक्कली गरिब कोहारलाई जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि दिनु भनी मालपोत कार्यालय भैरहवालाई २०७७ साल माघ २५ गते फोटो टाँसेर सिफारिस गरेको देखिन्छ।
त्यसपछि २०७७ साल फागुन १८ गते वडा कार्यालयले चारकिल्ला र नक्कली जग्गाधनी कोहारलाई नागरिकता प्रतिलिपी बनाउन सिफारिस दिएको छ।
वडा कार्यालयको सोही सिफारिसको आधारमा नक्कली जग्गाधनी बनेका कोहारले नागरिकताको प्रतिलिपी निकालेर २०७७ फागुन १८ गते पाल्पाको मदनपोखरा ४ निवासी सन्दीप कार्कीलाई बिक्री गरेको मालपोतको रेकर्डमा देखिन्छ।
जिल्ला मालपोत कार्यालय रूपन्देहीका प्रमुख केशवराज सुवेदीले जग्गाधनी भन्दै वडा कार्यालयले गरेको सिफारिस, चारकिल्ला, नागरिकताको प्रतिलिपीलगायत सबै कागजातको आधारमा जग्गा पास गरिदिएको बताए।
उनले सबै काममा वडा कार्यालयको सिफारिस रहेकोले नक्कली जग्गाधनी होला भन्ने आशंका नगरिएको बताए।
‘सक्कली जग्गाधनी भनेर नै उसले वडा कार्यालयबाट सिफारिस लिएर आएको छ, वडाबाटै जग्गाको चार किल्ला बनाउने र तिरोसमेत तिरेको कागजात पेश गरेको छ, नागरिकताको प्रतिलिपीसमेत बनाएर ल्याएको छ, तिनै कागजात हेरेरमात्र मालपोत कार्यालयले जग्गा पास गरिदिएको हो,’ उनले भने।
स्थानीयले नक्कली गरिब कोहार बनेर नागरिकताको प्रतिलिपी निकाल्ने, जग्गा बिक्रीको लागि वडा कार्यालयबाट सिफारिस बनाउने तथा अर्कैलाई जग्गा बिक्री गर्ने भारतको बनकटहवाका व्यक्ति भएको बताएका छन्।
वडाअध्यक्ष मियाको ससुराली बनकटहवा रहेको र नक्कली जग्गाधनी बनेका व्यक्ति मियाँका ससुरा भएको स्थानीयको दाबी छ। तर, यसबारे प्रशासनले केही बताएको छैन।
नक्कली कोहार बनेका ती व्यक्तिलाई वडा अध्यक्षले जग्गा धनी पुर्जा हराएको र श्रेस्तामा फोटो उप्किएको कारण देखाएर सिफारिस दिएका थिए।
जग्गाको चार किल्ला प्रमाणित पनि वडा अध्यक्ष मियाँले नै गरिदिएका छन्।
मालपोतका कर्मचारीले पनि अनलाइन इन्ट्री गरेको श्रेस्ताबाट प्रमाणित नगरी पुरानो ढड्डाबाट श्रेस्ता प्रमाणित गरिदिएका छन्। जबकी पुराना श्रेस्ताहरू अनलाइन इन्ट्री गर्न थालेको पाँच वर्षभन्दा धेरै भइसकेको छ।
त्यस्तै जग्गा धनी श्रेस्ताको मोठ र जग्गा धनी पूर्जामा फरक व्यक्तिको फोटो टाँसिएको छ। श्रेस्ता हेर्दा फोटो फेरेर अर्को कुनै व्यक्तिको टाँसेको, नक्कली साइन गरेको र औंठा छाप लगाउँदा तीन(चार पटक लगाएर नबुझिने बनाएको देखिन्छ।
७० वर्षका गरीबको ठाउँमा ३५र४० वर्ष उमेरको व्यक्तिको फोटो टाँस्दासमेत कर्मचारीले थाहा पाइएन भन्नुले मालपोतका कर्मचारीकै मिलोमतो भएको आशंका पीडित परिवारको छ।
कोहारको जग्गा बेच्न उनको नागरिकताको प्रतिलिपि पनि नक्कली नै बनाइएको पाइएको छ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी असमान तामाङले कोहारको नाममा निकालिएको नागरिकताको प्रतिलिपिको विवरण जिल्ला प्रशासनमा नभएको बताउँछन्।
‘त्यो नागरिकताको प्रतिलिपि पनि आफैंमा नक्कली हो, नागरिकताको प्रतिलिपी हुनुपर्ने सिफारिस जिल्ला प्रशासनको ढड्डामा र सिएमआइएसमा समेत अभिलेख छैन, सक्कली प्रतिलिपी निकालिएको थियो भने अभिलेख हुने थियो,’ उनले भने।
प्रमुख जिल्ला अधिकारी तामाङले गृह मन्त्रालयको सिएमएस सफ्टवेयरको प्रयोग गर्न जान्ने व्यक्तिले गृह मन्त्रालयको कार्ड र होलोग्राम चोरी गरेर नक्कली नागरिकताको प्रतिलिपी बनाएको दाबी गरे।
‘यो काम गृह मन्त्रालयको सफ्टवेयरको प्रयोग गर्न जान्ने व्यक्तिले गरेको छ, यसमा कसको संलग्नता छ भन्ने अनुसन्धान भइरहेको छ,’ तामाङले भने।
उक्त नागरिकताको प्रतिलिपीमा प्रशासकीय अधिकृत तोयनारायण अर्यालको हस्ताक्षर छ।
जिल्ला प्रशासन कार्यालयमा कुनै पनि कर्मचारी तोयनारायण भन्ने नभएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए।
आफ्नो सबै जग्गा अर्कैको नाममा पास गरिएपछि कोहारले आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै मालपोत कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरीसहित उजुरी दिएका छन्।
उनले आफ्नो जग्गा बिक्री गर्ने मुख्य योजनाकार वडा अध्यक्ष रमजान अलि मियाँ, जग्गा किन्ने पाल्पाको तानसेन नगरपालिका ८ निवासी ३१ वर्षीय सन्दीप कार्की, कपिलवस्तुको यशोधरा गाउँपालिका ८ का ४० वर्षीय गोविन्दप्रसाद मल्लाह र सिद्धार्थनगर नगरपालिका(१२ का मालपोत कार्यालयमा कार्यरत ४५ वर्षीय डण्डपानी न्यौपानेका नाममा किटानी जाहेरी दिएका छन्।
त्यस्तै पर्वतको विहादी गाउँपालिका ५ का २७ वर्षीय सुरज आचार्य, रुपन्देही सियारी गाउँपालिका १ सोनारतका लेखापढी व्यवसायी ६० वर्षीय भागवतप्रसाद उपाध्याय, सियारी गाउँपालिका १ का २५ वर्षीय राजन तिवारीविरूद्ध पनि किटानी जाहेरी दिएका छन्।
प्रहरीले लेखापढी व्यवसायी भागवतप्रसाद उपाध्याय र जग्गा खरिद गर्ने गोविन्दप्रसाद मल्लाहलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ। वडाध्यक्ष र अन्य व्यक्तिहरू भने फरार रहेका छन् ।
रूपन्देही प्रहरीले संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अन्तर्गत अहिले किर्ते मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्