काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले १८ सदस्यीय पदाधिकारी बनाएको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले महासचिवसँगै ७ उपाध्यक्ष, तीन उमहासचिव र चार सचिवको टुंगो लगाएको हो ।
सात उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ साह र जयन्ती राई छन् । वेदुराम भुसाल महासचिव बन्दा प्रकाश ज्वाला, गंगलाल तुलाधर र विजय पौडेल उपमहासचिव भएका छन् ।
यस्तै नागेन्द्र चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्र राई र रामकुमारी झाँक्री सचिव तोकिएका छन् ।
सचिवालयले उपाध्यक्षमा चार जना प्रस्ताव गरिएको थियो, जसमा राजेन्द्र, प्रमेश, धर्मनाथ र जयन्ती मात्र थिए । अहिले उपाध्यक्ष बनाइएका केशवलाललाई सचिवमा राखिएको थियो भने राजेन्द्र राईलाई पदाधिकारीमा राखिएको थिएन ।
तर राईलाई छुटाएकोमा असन्तुष्टि देखिएपछि केशवलाललाई उपाध्यक्षमा लगियो र उनलाई सचिव बनाउने सहमति भयो । त्यसमा पनि नेताहरुले असन्तुष्टि जनाएपछि घनेन्द्र र मुकुन्द न्यौपानेलाई पनि उपाध्यक्ष बनाउने प्रस्ताव आयो ।
तर मुकुन्द उपाध्यक्ष बस्न चाहेनन् । त्यसपछि केदार न्यौपानेलाई उपाध्यक्ष बनाइएको छ । मुकुन्दलाई भने वरीयता क्रममा तेस्रो नम्बरमा रहनेछन् । अध्यक्ष नेपालपछि वरिष्ठ नेता झलनाथ खनाल र त्यसपछि न्यौपानेलाई राखिएको छ ।
३५ सदस्यीय स्थायी कमिटी, ७१ सदस्यीय पोलिटब्यूरो र वैकल्पिकसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश तथा जिल्ला इन्चार्ज तोकेको छ भने केन्द्र बाहेक सबै कमिटीमा दुई उपाध्यक्ष रहने व्यवस्था गरिएको सचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्