हालसम्म गर्दै आएका कामहरू र प्राधिकरणको आगामी रणनीतिक योजनाहरूको बारेमा उपप्रमुखहरूसँग छलफल

काठमाडौं । उपत्यका विकास प्राधिकरणले उपत्यकाका विभिन्न नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरूसँग प्राधिकरणले हालसम्म गर्दै आएका कामहरू र प्राधिकरणको आगामी रणनीतिक योजनाहरूको बारेमा छलफल गरेको छ । प्राधिकरणले हालसम्म गरेको काम र आगामी योजनाको बारेमा प्राधिकरणका नायव विकास आयुक्त दिलीप शेखर श्रेष्ठले जानकारी दिएका थिए । कार्यक्रममा स्थानिक जनप्रतिनिधिहरूको धारणामा प्राधिकरणको भूमिका कस्तो हुनुपर्छ भन्ने बारेमा समेत छलफल भएको थियो ।

उपत्यका विकास प्राधिकरण र स्थानीय निकाय बीच सहकार्य आवश्यक रहेको र ठूला ठूला लगानी गर्नुपर्ने कामहरू, सम्पूर्ण नदीहरूको कोरिडोर निर्माणका कामहरू एकीकृत रूपमा अबका दिनमा प्राधिकरणले गर्नु पर्ने धारणा टोखा नगरपालिकाका प्रमुख प्रकाश अर्यालले व्यक्त गरेका थिए ।

त्यस्तै बुढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले प्राधिकरण साना साना कामहरू भन्दा ठूला कामहरूमा फोकस हुनुपर्ने र उपत्यकाको नदी कोरिडोर सँगै खोलाको बहाव क्षेत्रको मापदण्ड तयार गरेर लागु गर्नुपर्ने, खोलाको सूचीकरण गर्ने, नदी सभ्यतालाई कायम गर्दे दिगो रूपमा संरक्षण कायम गर्ने, सार्वजनिक जग्गा संरक्षण जस्ता कार्यलाई प्राथमिकता दिँदै नगरपालिकाहरूलाई प्रविधि सहयोग गर्ने, समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने र अझ अधिकार सम्पन्न र सशक्त भएर प्राधिकरण अगाडि बढ्नु पर्ने बताए ।

शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले काठमाडौँ उपत्यकाको मास्टर प्लान काठमाडौँ उपत्यका विकास प्राधिकरणले बनाउनुपर्ने, प्राधिकरणले नगरपालिकासँग समन्वय गरेर विकास निर्माणका कामहरू गर्नुपर्ने र अनधिकृत रूपमा भएको जग्गाको खण्डीकरण नियन्त्रण गर्नुपर्ने बताए । त्यस्तै उपत्यका भित्र बस्ती विकासका लागि योग्य ठाउँ पहिचान गरेर व्यवस्थित वस्ती विकासमा पनि उपत्यका विकास प्राधिकरणले काम गर्नुपर्ने आवश्यकता रहेको बताए । त्यस्तै विगत दश पन्ध्र वर्षदेखि सुरु भएका ल्याण्डपुलिङ आयोजनाहरू समयमा सम्पन्न हुन सकेका छैनन् यसलाई निश्चित समय तोकेर सम्पन्न गर्नेगरी काम गर्नुपर्ने नत्र स्थानीय जनताहरूले सधैँ दुःख पाइरहने सम्भावना रहको उनको भनाइ थियो ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले बाहिरी चक्रपथ काठमाडौँको सवारी चापलाई नियन्त्रण गर्ने एउटा मात्रै विकल्प भएकोले छिटो भन्दा छिटो काम सुरु गरिहाल्नुपर्ने विगतमा जस्तो कुरा मात्रै होइन चक्रपथलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढाइहाल्नुपर्ने बताए ।

कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले कागेश्वरी मनोहरा क्षेत्रमा समार्ट सिटीको लागि भनेर जग्गा रोकेर राखेको भए पनि अहिले सम्म बन्न नसक्नाले जनताको विश्वास कम हुँदै गएको छ त्यसैले स्मार्ट सिटीको कामलाई छिटो सुरु गर्नुपर्ने र जति ढिला हुँदै गयो त्यति नै काम गर्न समस्या उत्पन्न हुने बताए ।

उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले काठमाडौँ उपत्यका विकास प्राधिकरणको उद्देश्य काठमाडौँ उपत्यकालाई पर्यटकीय, सांस्कृतिक, पुरातात्त्विक सम्पदाको सहरको रूपमा चिनाउँदै सम्पदाको संरक्षण गर्दै, संवर्द्धन गर्दै भौतिक पूर्वाधार युक्त, वातावरण मैत्री सहर बनाउने रहेको जानकारी दिइन् । उपत्यकाको समग्र विकास प्राधिकरण र स्थानीय निकायको जिम्मेवारी भएकोले आगामी दिनमा नगरपालिकाहरू र प्राधिकरणले सहकार्य गरेर काम गर्न आवश्यक रहेको बताइन् ।

७,आश्विन.२०७८,बिहीबार १८:४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्