काठमाडौ । काठमाडौ नेपाली कांग्रेसले वडा अधिवेशन सकिएका जिल्लामा शनिबार गाउँ/नगर अधिवेशन गर्ने भएको छ।
पहिलो चरणमा ५७ र दोस्रो चरणमा ७ गरी कूल ६४ जिल्लामा कांग्रेसले वडा अधिवेशन गरेको थियो। बाँकी १३ जिल्लामा भने वडा अधिवेशन कहिले गर्ने भन्ने यकिन भइसकेको छैन।
कांग्रेस पदाधिकारी बैठकले वडा अधिवेशन सकिएका जिल्लामा असोज ९ मै पालिका अधिवेशन गर्ने सहमति गरे अनुसार तयारी भइरहेका छन्। निर्वाचन अधिकृतहरू पालिकाहरू पुगिसकेका छन्।
वडा अधिवेशन सकिए पनि केही जिल्लामा भने असोज ११ मा गाउँ र नगर अधिवेशन हुने भएको छ। ललितपुरमा असोज ११ मा गाउँ/नगर अधिवेशन गर्ने तयारी छ।
पालिका अधिवेशनका लागि वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरू मतदाता हुन्छन्।
कांग्रेसले हिमाली २१ जिल्लामा दसैंअगाडि नै जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ। जिल्ला अधिवेशन हुनुअगाडि पालिका, प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन पनि हुनेछन्। पूर्वनिर्धारित तालिकाअनुसार असोज १८ मा जिल्ला अधिवेशन हुन लागेको हो।
हिमाली भेगमा हिउँ पर्ने र चिसो हुने भएकोले दसैंअगाडि नै जिल्ला अधिवेशन गर्न लागिएको हो। पहाड र तराई क्षेत्रमा भने दसैंलगत्तै जिल्ला अधिवेशन गर्ने तयारी छ।
कांग्रेसले मंसिर ९ देखि १३ सम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने बताएको छ। तर तल्ला तहका अधिवेशन समयमै नभएकोले केन्द्रीय महाधिवेशन कार्यतालिका पनि सर्न सक्ने सम्भावना छ।
प्रतिक्रिया दिनुहोस्