आजबाट ईपीएल, उद्घाटनमा ललितपुर र काठमाडौं खेल्दै

काठमाडौं । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट प्रतियोगिताको आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुँदैछ ।

उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स-११ खेल्दै छन् । खेल नेपाली समय अनुसार सवा १२ बजेदेखि शुरु हुनेछ।

कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रने ललितपुर जितबाट प्रतियोगिताको सुरुवात गर्न चाहन्छ । काठमाडौं सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रनेछ। काठमाडौं पनि सुखद सुरुवात गर्ने योजनामा हुनेछ।

नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान टियुमा चौथो संस्करणको इपिएल ९ देखि २३ गतेसम्म चल्नेछ । प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले १४ दिनसम्म एकल राउन्ड रोविनअनुसार प्रतिस्पर्धा गर्ने छन् ।

राउन्ड रोविन लिगका शीर्ष चार टोली क्वालिफायर चरणमा छनोट हुनेछन् । पहिलो र दोस्रो स्थानबीचको विजेता सीधै फाइनलमा पुग्नेछ । यो खेलबाट पराजित भएको टोली र चौथो स्थानमा रहेको बीच खेल हुनेछ । यस खेलको विजेताले फाइनल स्थान बनाउनेछ । यसपटकको इपिएलका विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने आयोजक इपिएलले जनाएको छ । घरेलु फ्रेन्चाइज लिगमा च्याम्पियन टोलीले ५० लाख धनराशि पाउन लागेको यो पहिलोपटक हो ।

इपिएलको इतिहासमा ललितपुर सर्वाधिक सफल टोली हो । पहिलो र तेस्रो संस्करण ललितपुरले हात पारेको थियो । ललितपुरले तेस्रो संस्करणको उपाधि जित्दा कप्तान ज्ञानेन्द्र मल्ल कप्तान थिए । तर, यसपटक व्यक्तिगत कारण देखाउँदै मल्लले प्रतियोगिता सुरु हुनु तीन दिनअघि मात्र इपिएल नखेल्ने घोषणा गरेका छन् । ललितपुरले उनको स्थानमा कुशल भुर्तेललाई कप्तानीको जिम्मेवारी दिएको छ । काठमाडौं किंग्सका कप्तान सन्दीप लामिछाने छन्।

यसपटकको इपिएलमा २४ जना विदेशी खेलाडी खेल्दैछन्।

प्रत्येक टिममा ४-४ जना गरी ६ टिमका २४ विदेशी खेलाडी प्रतिस्पर्धामा उत्रन लागेका छन्।

ती २४ खेलाडी विभिन्न ११ देशका छन्। श्रीलंकाबाट सबैभन्दा बढी ८ खेलाडीले इपिएल खेल्दैछन्।

यस्तै टेस्ट टिमको कप्तान भइसकेका चार खेलाडी पनि इपिएलमा छन्।

हाल बंगलादेशको एकदिवसीय टिमका कप्तान तमिम एकबालसहित पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी, जिम्बावेका टी-२० टिमको कप्तानी गरिसकेका सिकन्दर राजा र श्रीलंकाका पूर्वकप्तान उपुल थारांगा यसपटकको इपिएलमा मैदान उत्रनेछन्।

इपिएलमा आबद्ध विदेशी खेलाडी र टिमका कप्तान

भैरहवा ग्लाडिएटर्स :
तमिम एकबाल (बंगालदेश), उपुल थारांगा (श्रीलंका), धम्मीका प्रसाद (श्रीलंका), शर्भिन मुनिएन्डी (मलेसिया) कप्तान- शरद भेषवाकर

चितवन टाइगर्स : मोहमद शाहजाद (अफगानिस्तान), करिम जनत (अफगानिस्तान), सिकुगे प्रशन्न (श्रीलंका), विरनदीप सिंह (मलेसिया) कप्तान – सोमपाल कामी

पोखरा राइनोज : साहन अरचिगे (श्रीलंका), रिचार्ड लेभी (दक्षिण अफ्रिका), असेला गुणरत्ने (श्रीलंका), केसरिक विलियम्स (वेस्ट इन्डिज) कप्तान – विनोद भण्डारी

विराटनगर वारियर्स : रायन पठान (क्यानडा), चन्द्रपाउल हेमराज (वेस्ट इन्डिज), सिकन्दर राजा (जिम्बावे), दीलसान मुनावीरा (श्रीलंका) कप्तान – करण केसी

काठमाडौं किंग्स ११ : शाहिद अफ्रिदी (पाकिस्तान), जनक प्रसाद (सिंगापुर), रायन बर्ल (जिम्बावे), राहमानुल्लाह गुरबाज (अफगानिस्तान) कप्तान – सन्दीप लामिछाने

ललितपुर प्याट्रिओट्स : अजमातुत्लाह ओमार्जाइ (अफगानिस्तान), ओसाडा फर्नान्डो (श्रीलंका), सान्दुन वीराकोडी (श्रीलंका), मिक्यो दोर्जी (भुटान) कप्तान – कुशल भुर्तेल

तमिम एकबाल हाल बंगलादेशका एकदिवसीय टिमका कप्तान हुन्।

उपुल थारांगा सन् २०१६ मा श्रीलंकाको एकदिवसीय टिमको कप्तान बनेका थिए। सन् २०१७ मा उनलाई टी-२० टिमको कप्तान बनाइएको थियो। टिम लगातार पराजित भएपछि उनले २०१७ मै कप्तानी छाडेका थिए।

सिकन्दर राजा पनि जिम्बावेका टी-२० टिमका पूर्व कप्तान हुन्।

शाहिद अफ्रिदीले पाकिस्तानको टी-२०, एकदिवसीय र टेस्ट गरी तीनै टिमको कप्तानी गरेका थिए।

कुन देशबाट कति खेलाडी?
श्रीलंका – ८
अफगानिस्तान – ४
मलेसिया – २
जिम्बावे – २
वेस्ट इन्डिज – २
बंगलादेश -१
क्यानडा -१
पाकिस्तान – १
सिंगापुर – १
भुटान – १
दक्षिण अफ्रिका – १

९,आश्विन.२०७८,शनिबार ०८:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्