एमाले बैठक आज पनि जारी, बहिस्कारको हल्ला निराधार: रावल

काठमाडौं । एमाले केन्द्रीय कमिटीको बैठक आज दोस्रो पनि बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीद्धारा प्रस्तुत राजनीतिक प्रस्ताव, महासचिव ईश्वर पोखरेलको सांगठानिक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान मस्यौदा प्रस्तावमाथि छलफल हुँदैछ ।

१० वटा समूहमा भएको छलफलपछि त्यसलाई टोली नेताले बैठकमा सुनाएर आवश्यक परिमार्जनपछि पारित गरिने कार्यालय सचिव शेरवहादुर तामाङले बताए ।

यसैबीच १० बुँदे सहमति लागु नभएको भन्दै माधव नेपाल समूह छाडेका नेताहरुले बैठक बहिस्कार गर्ने भनेर चलाइएको हल्ला गलत भएको केन्द्रीय सदस्य झपट रावलले बताएका छन् ।

उपाध्यक्ष भीम रावलसहित झपट रावल र भानुभक्त जोशीले शुक्रवार केन्द्रीय कमिटी बैठक शुरु हुनासाथ विशेषगरि सुदूरपश्चिममा १० बुँदे सहमति कार्यन्वयन नभएको भन्दै जवाफ मागेका थिए ।

अन्य प्रदेशमा जसरी सहज रुपमा १० बुँदे सहमति पालना नहुँदा कार्यकर्तालाई रोक्न गाह्रो भएको नेताहरुको भनाइ थियो । उनीहरुको भनाइपछि अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक लगत्तै स्थायी कमिटी बसेर समस्याको समाधान गर्ने बताएका थिए ।

तर बाहिर भीम रावलसहित १० स्थायी कमिटी सदस्य पक्षधर नेताहरुले बैठक बहिस्कार गर्न लागेको भनेर प्रचार गरिएकोमा त्यो सत्य नभएको अर्का केन्द्रीय सदस्य यज्ञराज सुनुवारले बताए ।

उनले भने– सुदूरपश्चिमको समस्याको कुरा राख्नुभयो,अध्यक्षले स्थायी कमिटी बसेर समाधान गर्ने भनिसक्नुभएको छ । आज हामी सबै बैठकमै जाँदैछौ । केन्द्रीय कमिटीले विधान महाधिवेशनका दस्तावेज पास गर्छ ।

एमालेमा अन्य प्रदेशमा १० बुँदे सहमति लगभग पालना भए पनि सुदूरपश्चिममा समस्या देखिएको छ । त्यसको समाधान यो केन्द्रीय कमिटी बैठक लगत्तै स्थायी कमिटीले समाधान गर्ने ओलीले बताएका छन् ।

९,आश्विन.२०७८,शनिबार ११:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्