म राजा बन्छु, मलाई श्रीपेच लगाउनु छ भन्ने सोचेँ : श्रीपेच लगाउन खोज्ने खेमबहादुर

काठमाडौं । काठमाडौंको म्हैपी बस्ने खेमबहादुर घर्ती शुक्रबार टिकट लिएर नारायणहिटी संग्रहालयमा प्रवेश गरे । एक्लै संग्रहालयमा छिरेका खेमबहादुर जब श्रीपेच राखेको सोकेश नजिकै पुगे त्यसपछि उनले अस्वभाविक हर्कत गरे । मुक्काले हिर्काएर श्रीपेच राख्ने सोकेस नजिकै रहेको खुकुरी राखेको सिसा फुटाए । सिसामा हिर्काउँदा उनको हातमा चोट लाग्यो । खुकुरीको सिसामा हिर्काएर श्रीपेचको सोकेशतिर लम्किएपछि त्यहाँ खटिएका नेपाली सेनाका सुरक्षा अधिकारीले उनलाई नियन्त्रणमा लिएका थिए । सिसा फुटाएपनि उनले खुकुरी निकाल्न पाएनन् ।

पश्चिम रुकुमको मुसिकोट नगरपालिका–११ घर भएका खेमबहादुरलाई अहिले महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ । २५ वर्षका खेमबहादुरमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । श्रीपेचको सोकेशमा किन हिर्काउन खोजेको ? भन्ने प्रहरीको प्रश्नमा खेम बहादुरले भनेका छन्–‘म राजा बन्छु, मलाई श्रीपेच लगाउनु छ भन्ने सोचेँ ।’

श्रीपेच लगाएर नारायणहिटीमा बस्ने र शासन चलाउने सोच आएपछि सोकेश फुटाउन खोजेको खेमबहादुरले प्रहरीलाई बताएका छन् । प्रहरीको सम्पर्कमा पुगेका उनका परिवारका सदस्यले उनको मानसिक समस्या रहेको र नियमित औषधी सेवन गरिरहेको बताएका छन् ।

योजनाबद्ध तरिकाले उनले श्रीपेच चलाउन खोजेको नदेखिएको काठमाडौंका एसएसपी अशोक सिंहले भने– ‘आकस्मिक सोचका कारण गलत हर्कत गरेको देखिन्छ, हामी थप अनुसन्धान गर्दैछौं ।’ मानसिक समस्याका कारण आकस्मिक सोचका कारण उनले संग्रहालयमा त्यस्तो व्यवहार देखाएको प्रहरीको निष्कर्ष छ । काठमाडौं प्रहरीले उनीविरुद्ध सार्वजनिक सम्पत्ति तोडफोड र सार्वजनिक हित विरुद्धको कसुरमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

९,आश्विन.२०७८,शनिबार १४:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्