आगामी निर्वाचनमा बहुमत ल्याउन एमाले नेताहरु एकमत, आइतबार विहान ११ बजे पुनः बस्ने बैठक

काठमाडौं । नेकपा एमालेका नेताहरुले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टीमा एकता कायम गर्नुपर्ने बताएका छन् ।

शनिबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकमा आसन्न विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक र सांगठनिक दस्तावेजका साथै विधान संशोधन मस्यौदामाथि भएको समूहगत छलफलको निष्कर्षहरु पेश भएको थियो ।

प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार नेताहरुले आगामी फागुनमा स्थानीय तहको निर्वाचन हुने भएकाले तयारी गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले अघि भने, ‘स्थानीय तहमा पहिलेको भन्दा राम्रो परिणाम ल्याउने गरी काम गर्नुपर्छ । आगामी संसदीय र प्रदेशको निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी सम्पूर्ण शक्ति एकतावद्ध हुनुपर्छ भनेर सुझाव आएको छ ।’

उनका अनुसार छलफलमा नेताहरुले पार्टीमा युवाका साथै महिला, आदिवासी जनजाति, महिला, मधेसीलगायतको सहभागिता बढाउनुपर्ने बताएका छन् । एमाले एकताको प्रतीक भएको भन्दै नेताहरुले कम्युनिस्ट एकताका लागि पहिले एमालेले नै अगुवाइ गर्नुपर्नेमा जोड दिएका छन् ।

अध्यक्ष ओलीसहित दस्तावेज प्रस्तुतकर्ताले आइतबार विहान ११ बजे बस्ने बैठकमा जवाफ दिनेछन् ।

९,आश्विन.२०७८,शनिबार १९:४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्