लमजुङमा पौडेल पक्षले देउवा पक्षले षड्यन्त्र गरेको भन्दै जलायो मतपत्र

काठमाडौं । सभापति शेरबहादुर देउवा पक्षले षडयन्त्रपूर्वक ढंगले हराउन खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले लमजुङमा मतपत्र कब्जामा लिएर जलाएको छ।

लमजुङको राइनास नगर कार्यसमितिको अधिवेशनमा निर्वाचन प्रक्रिया स्थगित गरेर मतपत्र जलाएको कांग्रेस लमजुङले जनाएको छ।

राइनास नगरपालिका लमजुङ कांग्रेसका ‘ठूला’ नेताहरु भएको ठाउँ हो। कांग्रेस लमजुङका पूर्वसभापति तुलसीनारायण श्रेष्ठ, अघिल्लो अधिवेशनमा जिल्ला सभापति र प्रतिनिधि सभाका उम्मेदबार बनेका टकराज गुरुङ, नेताहरु राजकुमार पाण्डे, डिकेन्द्रराज कँडेललगायत केन्द्रमा प्रभाव राख्न सक्ने नेताहरु सोही नगरपालिकाका मतदाता हुन्।

उल्लेखित नेताहरुले मतदान गर्न गएको अधिवेशनमै अलोकतान्त्रिक हर्कत भएको स्थानीय कार्यकर्ताले बताएका छन्। दिनभर लाइन बसेर मतदान गरेका मतदातासमेत आफ्नो मत रद्द भएको भन्दै आक्रोशित बनेका थिए भने धाँधली भएको भन्दै पौडेल पक्षका कार्यकर्ताले नारासमेत लगाए। त्यसबखत स्थिति केहीबेर तनाबपूर्ण भएको समेत स्थानीय एक कार्यकर्ताले बताएका छन्।

अधिवेशनमा मतपत्रमार्फत धाँधली गरेको र हराउन षडयन्त्र गरेको भन्दै पौडेल पक्षका सभापतिका उम्मेदवार श्रीकृष्ण पौडेल पक्षले मतपत्र जलाएका हुन्। आधा बढी मतदान भइसकेपछि मतदान प्रक्रिया स्थगित गरेर मतपत्र जलाएको कांग्रेस लमजुङका सचिव हरिप्रसाद बरालले बताए।

मतपत्रमा सभापतिका उम्मेदवार पौडेललाई मत दिन आवश्यक कोष्ठ नभएको र क्रम संख्या २ हुनुपर्नेमा १ भएको कारण मतपत्र जलाएको उम्मेदवार पौडेलले बताए। निर्वाचन अधिकृत र सभापतिका देउवा पक्षका उम्मेदवार नुरराज कडरिया पक्षले षडयन्त्रपूर्वक हराउन खोजेको उनको आरोप छ।

‘आफू हार्ने सुनिश्चित भएपछि षडयन्त्र भयो,’ पौडेलले भने, ‘त्यही भएर हामीले मतदान प्रक्रिया रोकेर मतपत्र जलायौं।’

राइनास नगर कार्यसमितिका लागि सभापति उम्मेदवार पौडेल र कडरिया प्यानल बनाएर निर्वाचन लडेका थिए। अधिवेसनमा ४० मत खसेपछि पौडेललाई मत दिने ठाउँ नभएको जानकारी पाएको र १२३ मत खसेपछि सभापति उम्मेदवार पौडेललाई मतदान गर्ने कोष्ठ र क्रम संख्या नभएको भेटिएको उम्मेदवार पौडेलले बताए। राइसनास कांग्रेसमा क्षेत्रीय प्रतिनिधि र वडाअध्यक्ष गरी २०२ जना मतदाता छन्।

सभापति उम्मेदवार पौडेलले मतपत्रमा अल्फाबेटअनुसार आफ्नो नाम १ नम्बरमा हुनुपर्ने ठाउँमा दोस्रो स्थानमा राखिदिएको बताए। उनले भने, ‘मैले मेरो नाम क्रमसंख्या २ मा छ भनेर भोट मागेको थिए, आखिर अर्का उम्मेदवारको पनि १ मेरो पनि १ नम्बर क्रमसंख्या राखिदिएछ, हार्ने निश्चित भएपछि ठुलो षडयन्त्र गरियो।’

लोकतन्त्रको रक्षा गर्दै देशको नेतृत्व गर्ने पार्टीका कार्यकर्ताले निर्वाचनमा हार स्वीकार्न सक्नुपर्ने उनको भनाइ छ।

यसअघि विपक्षी प्यानलबाट सभापति आफुलाई सर्वसम्मत छाडेर पदाधिकारीमा आउन खोजेको दाबी गर्दै पौडेलले टिमका लागि छाड्न नसकेको बताए। लामो समय जागिरे भएर रिटायर जीवन राजनीतिमा बिताउन खोजेको भन्दै पौडेलले आफू डिग्री पास गरेर राजनीतिमा होमिएको दाबी गरे।

मतपत्र जलाउँदा विपक्षी प्यानल, निर्वाचन समिति र मतदातालाई रोहबरमा राखेकोसमेत पौडेलले बताए। यता, जिल्ला समितिका एक सदस्यले भने उम्मेदवार पौडेलले मतपत्र कब्जामा लिएर जलाएको आरोप लगाए। मतदान थाल्नुअघि सभापति उम्मेदवारलाई मतपत्र देखाएर हस्ताक्षर गर्नुपर्ने प्रक्रिया समेत पुरा नगरेको पौडेलले बताए।

नगर सभापतिका देउवा पक्षका उम्मेदवार कडरियाले भने विपक्षी प्यानललाई हराउन आफूले कुनै षडयन्त्र नगरेको बताए। ‘मतपत्र छाप्दा गल्ती भएछ, यसलाई षडयन्त्र भन्न मिल्दैन,’ उनले भने, ‘चुनाव जित्नका लागि हामीले कुनै षडयन्त्र गरेका छैनौं।’

विपक्षी उम्मेदवारले तत्काल मतदान प्रक्रिया स्थगित गर्न आग्रह गर्दा आफूले सहमति दिएको भएपनि निर्वाचन प्रक्रिया नै स्थगित गर्न मतपत्र जलाउन आफ्नो सहमति नभएको कडरियाले बताए।

‘मतपत्रमा भएको गल्तीका लागि अर्को समझदारी गर्न सकिन्थ्यो, उहाँलाई आएको मतलाई मान्यता दिन सकिन्थ्यो,’ उनले भने, ‘मतदान जारी राख्नुपर्ने मेरो अडान थियो।’ मतपत्र जलाउने रोहबरमा आफूले हस्ताक्षर नगरेको समेत उनले बताए।

राइनास नगरपालिकामा कांग्रेसको अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृत दिनेश चिलुवालले मतपत्र छाप्दा गल्ती भएको स्वीकारे। उनकाअनुसार राइनास नगरमा लगिएका सबै मतपत्रमा सभापति उम्मेदवार पौडेललाई मत दिन ठिक चिन्ह लगाउने कोष्ठ नभएको बताए। मतदान प्रक्रिया रोकिएकाले अब जिल्ला निर्वाचन समितिले राइनासको अधिवेशनबारे निर्णय गर्ने चिलुवालको भनाइ छ।

१०,आश्विन.२०७८,आईतवार ०७:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्