धरानमा शेरबहादुर देउवा पक्षको टीमले प्यानलै हरेकोमा सुनसरीकै इटहरी नगरपालिकामा भने पहिलोपटक तीन पदाधिकारीमा विजय गरे प्राप्त

इटहरी । धरानमा शेरबहादुर देउवा पक्षको टीमले प्यानलै हरेकोमा सुनसरीकै इटहरी नगरपालिकामा भने पहिलोपटक तीन पदाधिकारीमा विजय प्राप्त गरेको छ । देउवा पक्ष कमजोर भएको मानिने इटहरीमा अहिले सात पदाधिकारीमध्ये एक उपाध्यक्ष, एक सचिव र एक सहसचिवमा विजय हासिल गरेको हो ।

उपसभापतिमा वालकृष्ण विष्ट विजयी भएका छन् भने सचिवमा मन्दीप भट्टराईले जित हासिल गरेका छन् । पछिल्लो चुनावमा देउवा टिमबाट विजयी हुने इटहरीका एकमात्रै सदस्य भट्टराई थिए । त्यतिबेला उनले सदस्य जितेका थिए । यस्तै सहसचिवमा विजयी मेनुका गिरी पनि देउवा पक्षकै हुन् ।

पदाधिकारीहरुमा सानदार जित हासिल गरेको देउवा पक्षका उमेद्वार विकास केसीले सभापतिमा भने जित्न सकेनन । दुईपटक सभापति भइसकेका रामचन्द्र पौडेल पक्षका हेमकर्ण पौडेलले केसीलाई ४२ मतान्तरले पराजित गरे । पौडेलले २५३ मत ल्याउँदा केसीले २११ मत पाए ।

पछिल्लो चुनावमा भन्दा केसीको मत धेरै सुधार भएको हो । १३ औं नगर अधिबेसशमा पनि भिडेका पौडेल र केसीको मतान्तर दोब्बर थियो । १९ मत बदर भएको बताइएको छ ।

यस्तै उपसभापतिमा पौडेल पक्षका कोविदजंग कार्की विजयी भएका छन् । कार्की नेपाली कांग्रेससँग एकीकरण गरेको विजय गच्छदारको फोरम लोकतान्त्रिक हुँदै कांग्रेस आएका हुन् । सचिव र सहसचिवमा क्रमशः विक्रम घिमिरे र ईश्वर तामाङ विजयी भएका छन् ।

इटहरीस्थित जनता स्कुलको प्रांगणमा भएको चुनावमा ४८२ मतदाता सहभागी थिए । मतगणना इटहरीको सांस्कृतिक भवनमा भएको थियो । शनिवार साँझ मात्रै सुरु भएको मतगणनाको नतिजा आइतबार विहान मात्रै सार्वजनिक भएको हो ।

१०,आश्विन.२०७८,आईतवार ११:२९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्