काठमाडौँ । कलाकार डा.सविना श्रेष्ठको तीन दिने एकल चित्रकला प्रदर्शनी ‘भाइब्रेसन’ सोमबार सम्पन्न भएको छ ।
बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाल आर्ट काउन्सिलमा आयोजित प्रदर्शनीको शनिबार शुभारम्भ गर्नुभएको थियो ।
प्रदर्शनीमा डा.सविनाले तीन वर्षमा सिर्जना गरेका १०३ वटा कलाकृति राखिएका थिए । एक्रेलिक रंग माध्यममा अमूर्त र अर्धमूर्त शैलीमा तयार पारिएका चित्रकलाले प्रकृति, जीवन र जगतका विविध भाव भङ्गीहरुलाई उतार्नुभएको थिए ।
‘भाइब्रेसन’ अर्थात् कम्पन । आँखा रोग विशेषज्ञ एवं प्राध्यापक डा.सविनामा रहेको ‘कलाप्रेम’ मा एउटा घटनाले हलचल ल्याइदियो । त्यो घटना थियो, विश्व दृष्टि दिवसको सन्दर्भमा काठमाडौँ मेडिकल कलेजमा तीन वर्षअघि आयोजित चित्रकला कार्यशाला । त्यो बेला वरिष्ठ कलाकारहरुले क्यानभासमाथि रंग खेलेको दृश्यले उहाँको कलाचेतमा हलचल ल्याइदियो । त्यसै केहि दिनदेखि ‘म पनि प्रयास गर्छु’ भन्ने जोश बटुलेर क्यानभास पोत्न थाल्नु भएको छ ।
कलाकार डा.श्रेष्ठले भन्नुभयो, “विज्ञान विषय पढ्ने क्रममा रामानन्द जोशीसँग पेन्सिल स्केचिङ सिक्ने मौका पाएको थिएँ । त्यसैले पनि क्यानभास पोत्न हिम्मत गरें ।”
प्रदर्शनीमा त्यो पहिलो काम समेत राखिएको छ । कलाकार डा.श्रेष्ठले बताए, “भावना अभिव्यक्त गर्ने रमाइलो तरिका रहेछ, कला ।”
प्रतिक्रिया दिनुहोस्