बिहारमा भेटिए कपनबाट हराएका चार वर्षीय बालक

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित कपनबाट हराएका एक बालक भारतको बिहारमा सकुशल भेटिएका छन्।

भारतको बिहार घर भई कपनको टहरामा बस्दै आएका विनोद शर्माका ४ वर्षीय छोरा पियुस सोमबार साँझ ४ बजेदेखि सम्पर्कविहीन भएका थिए। उनको खोजी गर्दा बिहारमा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।

विनोदकै साथी शंकर दासले उनलाई बिहार लगेको खुलेको हो। भारतीय प्रहरीसँग समन्वय गरी उनीहरूको खोजी गरिएको थियो। बिहारमा भएका आफन्तहरूले पियुसको जिम्मा लिइसकेको एसएसपी सिंहले बताए। बुवा विनोद छोरा लिन बिहार जान लागेको पनि उनले बताए।

यता शंकरमाथि भने प्रहरीले अनुसन्धान थाल्ने भएको छ। उनले किन त्यसरी बच्चा लगे भन्ने अहिले नै खुलिनसकेको प्रहरीले जनाएको छ। ‘बच्चा लिएर उनी किन बिहार गए भन्ने अहिले नै खुलेको छैन। भारतीय प्रहरीसँग समन्वय भइरहेको छ,’ उनले भने।

मंगलबारसम्म पनि बालक सम्पर्कमा नआएपछि परिवारले प्रहरीको कन्ट्रोल नम्बरमा सम्पर्क गरेको थियो। त्यसपछि प्रहरीले बालकको खोजी थालेको थियो।

विनोद र शंकर दुबै जना काठमाडौंमा सँगै शिशाको काम गर्ने साथीहरू हुन्।

१३,आश्विन.२०७८,बुधबार ०७:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्