बेलायतका नेपालीले कोदोको रक्सीको बिक्री गर्न थाले, डिसेम्बरसम्म नेपाली बजारमा आइपुग्ने
वि.सं.२०७८ असोज १४ बिहीवार १७:१४
shares

लन्डन । बेलायतस्थित नेपालीले कोदो लिमिटेड नामक कम्पनीको स्थापना गरी ‘कोदोको रक्सी’ बेच्न सुरु गरेका छन् । विशुद्ध कोदोको रक्सी बताइएको उक्त रक्सीको एक बोतललाई २६ पाउन्ड स्टर्लिङ अर्थात् ४१ सय ६५ नेपाली रुपैयाँ मूल्य तोकिएको छ। यो रक्सीमा ६० प्रतिशत अल्कोहलको मात्रा हुन्छ।
बेलायतमा बसोबास गर्दै आएका नेपाली व्यवसायीहरु जनक राई, जितेन्द्र चेम्जोङ, सुमन गुरुङ, आकाश सुनुवारलगायतले कम्पनी सञ्चालन गरेका हुन् । कोदो लिमिटेडका एमडी जनक राईले अहिले बेलायतमा मात्रै रक्सी उपलब्ध रहेको र आगामी डिसेम्बरसम्म नेपाली बजारमा समेत बिक्री हुने जनाएका छन् ।
कोदोको रक्सी भुटेको बंगुर मासु, राँगाको सुकुटी, आलुदमसँग खान सकिने कम्पनीले उल्लेख गरेको छ। अमेरिकी टेलिभिजन सीएनएनले नेपाली कोदोको रक्सीलाई विश्वको ५० अत्यधिक स्वादिलो रक्सीमध्ये एक भनेको छ।





















