नेकपा एमालेको विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीमा सुरु, सहभागी हुने एमाले नेता–कार्यकर्ताहरु गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा धेरै चहलपहल

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीमा सुरु हुँदै छ । महाधिवेशनमा सहभागी हुन एमाले नेता–कार्यकर्ताहरु गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पुग्ने क्रम जारी छ ।

सम्मेलन केन्द्रमा नेता-कार्यकर्ताहरुको भिडभाड देखिन्छ । कोरोना संक्रमणको बेला भिडभाड गर्न रोक लगाइए पनि एमालेले आयोजना गरेको विधान महाधिवेशनमा ६ हजार बढी नेता–कार्यकर्ताहरु सहभागी हुँदैछन् ।

महाधिवेशनको उदघाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । उनलाई सातदोबाटोबाट कार्यकर्ताहरुले स्कर्टिङ गर्दै गोदावरी पुर्‍याउने छन् ।

यो महाधिवेशनले आगामी पाँच वर्षका लागि एमालेको सांगठनिक संरचना र राजनीतिक कार्यदिशा तय गर्ने भएकाले यसलाई चासोको साथ हेरिएको छ । माओवादीसँगको पार्टी एकता बदर भएपछि एमाले पूर्ववत अवस्थामा फर्किएको, पाँच वर्षसम्म सरकार सञ्‍चालनको जनमत पाए पनि तीन वर्षमै सरकार ढलेको, सरकारको नेतृत्व गर्दा दुई पटकसम्म विघटन गरेको संसद सर्वोच्च अदालतले व्युँताइदिएको र यही विवादका कारण एमाले फुटेको अवस्थामा आयोजना गरिएको विधान महाधिवेशनलाई चासोका साथ हेरिएको हो ।

विधान महाधिवेशन तीन दिनसम्म चल्ने छ । महाधिवेशनमा सहभागी हुन आएकाहरुलाई खाना तथा खाजाको व्यवस्था मिलाइएको छ ।

विगतमा राष्ट्रिय महाधिवेशनबाट नीति र नेतृत्व टुंगो लगाउँदै आएको एमालेले यस पटक भने नीति तय गर्न अलग्गै विधान महाधिवेशन आयोजना गरेको हो । एमालेले आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ । नवौं महाधिवेशन २०७१ सालमा भएको थियो ।

विधान महाधिवेशनमा पार्टी केन्द्रीय कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका सांसदहरु, प्रदेश कमिटीका सदस्यहरु, विभागबाट चुनिएका प्रतिनिधिहरु, जिल्ला कमिटीका प्रतिनिधिहरु, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरु, पालिकाका प्रमुख तथा उपप्रमुखहरु, भातृ संगठनका प्रतिनिधिहरु, प्रवास कमिटीका प्रतिनिधिहरु सहभागी हुनेछन् ।

१५,आश्विन.२०७८,शुक्रबार १३:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्