काठमाडौं । राजधानीमा जारी नेकपा एमालेको विधान महाधिवेशन अन्तर्गत आज समूहगत छलफल सुरू हुँदैछ । महाधिवेशनमा पेस भएको प्रतिवेदनमाथि शनिबार बिहान ८ बजेदेखि समूहगत छलफल हुन लागेको एमाले प्रचार प्रसार विभागले जनाएको छ।
शुक्रबार सुरु भएको नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजहरुमाथि माथि छलफल गर्न १० वटा समूह गठन भएका थिए।
एमालेले ६ हजार भन्दा धेरै प्रतिनिधिलाई १० समूहमा विभाजन गरेको छ । १० वटा समूहलाई छलफलका लागि आज आठ बजेदेखि चार घण्टा समय दिइएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल गरिने भएको हो।
समूहगत छलफल सकिएपछि फेरि पूर्ण बैठक बस्नेछ। सो बैठकमा समूहको निष्कर्ष सुनाइने छ । समूहको निष्कर्षपछि आइतबार महाधिवेशन सकिने छ।
१० वटा समूहलाई सहजीकरण गर्न २० जना नेतालाई जिम्मेवारी दिइएको छ। प्रदेश १ को समूहको सहजीकरण सुवास नेम्वाङ र भीम आचार्यले गर्नेछन्। प्रदेश २ को समूहको सहजीकरण सत्यनारायण मण्डल र रघुविर महासेठले गर्नेछन् ।
यस्तै, बागमती प्रदेश समूहको सहजीकरण अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा बादलले गर्नेछन् भने गण्डकी प्रदेश समूहको सहजीकरण पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङले गर्नेछन् ।
यस्तै लुम्बिनी प्रदेश समूहको सहजीकरण विष्णु पौडेल र शंकर पोखरेलले गर्नेछन् भने कर्णाली प्रदेश समूहको सहजीकरण युवराज ज्ञवाली र यामलाल कँडेलले गर्नेछन् । सुदूरपश्चिम प्रदेश समूहको सहजीकरण भीम रावल र लेखराज भट्टले गर्नेछन् ।
उपत्यका विशेष कमिटी सम्पर्क समूह र प्रवास समूहको सहजीकरण छबिलाव विश्वकर्मा र राजन भट्टराईले गर्नेछन्। जनसंगठन समूहको सहजीकरण गोकर्ण विष्ट र टोपबहादुर रायमाझीले गर्नेछन् ।
यस्तै, केन्द्रीय निकाय र विभाग समूहको सहजीकरण अमृत बोहरा र पुष्प कँडेलले गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्