अफगानिस्तानको मस्जिदलाई निशाना बनाएर आक्रमण, ठूलो संख्यामा सर्वसाधारणहरूको मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा मस्जिदलाई निशाना बनाएर आइतबार बम बिस्फोट भएको छ । इद गाह मस्जिदको प्रवेशद्वार नजिकै बम पड्कँदा ठूलो संख्यामा सर्वसाधारणहरूको मृत्यु भएको तालिबानका प्रवक्ताले बताएका छन् ।

यस मस्जिदमा तालिबानका प्रवक्ता जुबिहुल्लाह मुजाहिदकी आमाको संझना कार्यक्रम भइरहेको थियो । आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । मध्य अगस्टमा तालिबानले अफगानिस्तान कब्जा गरेयता इस्लामिक स्टेट (आईएस) का लडाकुहरुले निरन्तर आक्रमण गर्दै आएका छन् । जसकारण, तालिबान र आईएसबीच ठूलो युद्ध निम्तनसक्ने सम्भावना देखिएको छ ।

आईएसआईएलले पूर्वी प्रान्त नान्गर्हरमा आफ्नो उपस्थिती बलियो बनाएको छ । उसले तालिबानलाई आफ्नो दुश्मन ठान्छ र तालिवानविरुद्ध प्रान्तीय राजधानी जलालावादमा धेरैपटक आक्रमण गरिसकेको छ । तर, काबुलमा भने यस्ता आक्रमण दुर्लभ छ ।

१७,आश्विन.२०७८,आईतवार १८:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्