यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट दुईजना बिचौलियालाई पक्राउ

काठमाडौँ । लाइसेन्स बनाइदिने भन्‍दै सेवाग्राहीबाट पैसा असुल गरेको आरोपमा यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट ट्राफिक प्रहरीले दुईजना बिचौलियालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-१४ नख्खीपोट बस्ने ३० वर्षीय सुमन तामाङ र ललितपुर ममहानगरपालिका- १३ कुसुन्ती बस्ने २३ वर्षीय सुरज गुप्ता रहेका छन्।

लाइसेन्सको लिखित परीक्षा पास गराइदिने, फास्ट ट्रायल मिलाइदिने, नवीकरण गरिदिने, सिफारिसहरु मिलाइदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने तथा लाइनमा लागेका सर्वसाधारणलाई सास्ती दिने २ जना विचौलियालाई यातायात कार्यालय एकान्तकुनाबाट पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

यातायात कार्यालयमा आउने सेवाग्राहीसँग पैसा बार्गेनिङ गरी लिँदै गरेको अवस्थामा कार्यालय परिसरबाट पक्राउ गरेको एसएसपी भट्टराईले जानकारी दिए ।

महाशाखाको पीडित सहायता कक्षबाट सादा पोशाकमा खटिएको टोलीले आफैँ सेवाग्राही बनेर कारवाही अभियान चलाइरहेको छ ।
पक्राउ व्यक्तिहरूलाई महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा थप अनुसन्धान तथा कारवाहीको लागि बुझाएको महाशाखाले जनाएको छ ।

१७,आश्विन.२०७८,आईतवार १८:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्