नेपाली कांग्रेस गोरखाको सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत चयन, अन्य पदका लागि निर्वाचन

गोरखा । नेपाली कांग्रेस गोरखाको सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत चयन भएका छन् । सोमबार सभापति पदमा न्यौपाने बाहेक अन्यको उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत चयन भएका हुन् । आरुघाट गाउँपालिका २ मान्वु घर भएका उनी यसअघि पार्टीको जिल्ला सचिव थिए ।

अन्य पदमा भने आकांक्षी धेरै भएकाले निर्वाचन हुने भएको छ । दुई उपसभापतिमा पाँच जनाको उमेदवारी परेको छ । इमानसिंह बस्नेत, धिरन थापा, रविकला खनाल, सीपी पोखरेल र हरिबहादुर गान्धारीले उम्मेदवारी दर्ता गरेको निर्वाचन समितिले जनाएको छ ।

दुई सचिवका लागि पाँच जनाले मनोनयन दर्ता गराएका छन् । ओमबहादुर गुरुङ, कृष्णबहादुर आले, किशोरजंग थापा, तारानाथ पुडासैनी र रामप्रसाद भण्डारीले मनोनयन दर्ता गरेको समितिले जनाएको छ ।

सहसचिव पदका लागि आठ जनाले उमेदवारी दिएका छन् । कमलप्रसाद अम्गाईं, गंगाप्रसाद अधिकारी, दीपक हमाल, भेजराज पाण्डे, मानप्रसाद धिताल, रामशरण आचार्य, लुमनाथ लामिछाने र विश्व भट्टले उमेदवारी दिएका हुन् । उनीहरुबाट दुई जना सहसचिवमा निर्वाचित हुनेछन् । आकांक्षी धेरै भएकाले सदस्यहरु पनि निर्वाचनबाट चयन गरिने भएको छ ।

१९,आश्विन.२०७८,मंगलवार १२:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्