काठमाडौं । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा नेपालका ६२ जना किशोरीले एक दिनका लागि विभिन्न पद सम्हाल्ने भएका छन् । अक्टोबर ११ लाई अन्तर्राष्ट्रिय बालिका दिवसको रुपमा मनाउने गरिन्छ ।
उक्त दिवसको अवसरमा प्लान इन्टरनेशनलले हामी दाजुभाइसँगको सहकार्यमा ‘डिजिटल जेनेरेसन, आवर जेनेरेसन’ नारासहित ‘गल्र्लस् टेकओभर’ कार्यक्रम गर्ने भएको हो ।
सुनसरी, सिन्धुली, बाँके, बर्दिया, जुम्ला, मकवानपुर र कालीकोट जिल्लाका ३१ स्थानीय तहका विभिन्न पदमा रहेर किशोरी तथा बालिकाहरुले अनलाइनबाट बालिका तथा किशोरीहरुमा हुनसक्ने जोखिम, यसका फाइदा–बेफाइदा र सदुपयोगबारे जनप्रतिनिधिहरुसँग छलफल गर्नेछन् । उनीहरुले मंगलबारदेखि आगामी सोमबारसम्म विभिन्न पदभार ग्रहण गरी काम गर्नेछन् ।
मंगलबार बाँकेको वैजनाथ गाउँपालिकामा महिला तथा बालिका शाखा प्रमुखको भूमिका १८ वर्षीय अनु रावतले निभाउनेछिन् । ‘अनलाइन माध्यम बालिका तथा किशोरीको लागि असुरक्षित हुँदै गइरहेकाले शाखाले यसबारे सचेतना, जानकारी, सदुपयोगबारे कसरी काम गर्नसक्छ भन्ने बारेमा छलफल तथा सुझाव दिनेछु,’ उनले भनिन् । एक दिन समय भएकाले सकेसम्म धेरै र प्रभावकारी काम गर्ने कोशिश गरिरहेको उनले बताइन् ।
यसैगरी शुक्रबार सिन्धुलीको गोलन्जोर गाउँपालिकाको वडाध्यक्षको जिम्मेवारी १८ वर्षीय सुमित्रा अछामीले सम्हाल्नेछिन् । ‘अहिले तयारीमा छु । एक दिन वडाध्यक्ष भएर अनलाइनले किशोरी तथा बालिकामा पारेको प्रभावका विषयमा छलफल गर्नेछु । र, वडालाई यसबारे आगामी दिनमा संवेदनशील भई काम गर्नको लागि सुझाव दिने तयारीमा छु,’ उनले भनिन् । एक दिन वडाध्यक्ष भएर सबै जनप्रतिनिधि, सम्बन्धित सरोकारवालासँग कुरा गर्ने तयारी गरिरहेको पनि उनले सुनाइन् ।
यस्तो प्रयासले बालिका तथा किशोरीमा आत्मविश्वास बढाउनुका साथै सम्बन्धित निकायलाई पनि अनलाइनको महत्व, जोखिम, सदुपयोगका बारेमा काम गर्न दबाब पुग्ने प्लान नेपालका निर्देशक प्रसिन खातीले बताए । यो कार्यक्रमका लागि बालिका तथा किशोरीहरुलाई पाँच दिनको तालिम दिएर तयार गरेको उनले बताए । ‘एक दिन उनीहरुले पद सम्हाल्दा नेतृत्वको भूमिकाबारेमा अनुभव लिन्छन्, महत्व बुझ्छन् र सम्बन्धित विषयमा जनप्रतिनिधि तथा सरोकारवालालाई पनि सचेत गराउँछन् । जसले गर्दा आगामी दिनमा काम गर्न दबाब सिर्जना हुनसक्छ,’ खातीले भने ।
कोभिड र यौन तथा प्रजनन सम्बन्धी जानकारीका लागि अनलाइन प्रयोग
प्लान इन्टरनेशनलले विश्वव्यापी गरेको अध्ययन अनुसार किशोरी तथा युवतीले कोभिड, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारीका लागि अनलाइनको प्रयोग गरेको पाइएको छ ।
संस्थाले २६ देशका २६ हजार भन्दा बढी किशोरी तथा युवतीहरुमा विभिन्न विधि प्रयोग गरी अध्ययन गरेको जनाएको छ । उक्त अध्ययन अनुसार ट्रान्स किशोर तथा युवतीले भने स्वास्थ्य सम्बन्धी, मानसिक स्वास्थ्य सम्बन्धी जानकारी बढी खोज्ने गरेका छन् । यस्ता सूचना तथा जानकारीहरु ५७ प्रतिशतले बीबीसी, अलजजिरा लगायतका आधिकारिक सञ्चारमाध्यम हेर्ने गरेको र बाँकीले विभिन्न सामाजिक सञ्जालमा हेर्ने गरेको पाइएको छ । ५२ प्रतिशतलाई सामाजिक सञ्जालको प्रभाव पर्ने समेत देखिएको छ ।
अध्ययनमा सहभागी किशोरी तथा युवतीहरुमध्ये ५५ प्रतिशतले ७ घन्टा अनलाइनमा बिताउने गरेको बताएका छन् । अध्ययनका क्रममा उनीहरुले विभिन्न सामाजिक सञ्जालबाट गलत सूचना प्रवाह हुने जसले गर्दा उनीहरुको व्यक्तिगत जीवनमा प्रभाव पार्ने गरेको बताएका छन् । यस्ता गलत सूचना फेसबुकबाट ६५ प्रतिशत, टिकटकबाट २७ प्रतिशत, ह्वाट्स एपबाट २७ प्रतिशत र युट्युबबाट २७ प्रतिशत हुने सहभागीले बताएको रिपोर्टमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्