कपिलवस्तुको कृष्णनगरमा झाडापखालाको प्रकोप, २ जनाको मृत्यु

तौलिहवा । कपिलवस्तुको कृष्णनगरमा झाडापखालाको प्रकोप देखिएको छ । झडापखालाबाट दुई जनाको मृत्यु भएको छ भने एक सयभन्दा धेरै विरामी परेका छन् ।

कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा झाडापखालाको प्रकोप देखिएको छ । बहादुरगञ्जस्थित शिवराज अस्पतालमा बिरामीहरुको चाप छ । अस्पतालमा झाडापखालाका ९० भन्दा बढी व्यक्ति उपचाररत छन् ।

बिरामीको चाप बढेपछि एउटा बेडमा दुई जनालाई राखेर र कतिपयलाई भुईंमै राखेर उपचार गर्नु परेको शिवराज अस्पतालका डाक्टर मुकेश चौधरीले जानकारी दिए । बिरामीहरुलाई अस्पतालको आँगनमा खटिया राखिएको छ । डोरी टाँगेर, त्यसमा स्लाइन पानी झुण्ड्याएर बिरामीहरुलाई दिइएको छ ।

झाडापखलाबाट एउटै गाउँका ६२ जनासम्म बिरामी परेका छन् । बिरामीहरु धेरैजसो बालबालिकाहरु छन् । गम्भीर बिरामी परेकाहरुलाई जिल्ला अस्पतालमा र लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिएको छ ।

झाडा पखाला कसरी फैलियो भन्ने थाहा हुन सकेको छैन । तर दूषित पानीका कारण झाडा पखाला फैलिएको हुन सक्ने अनुमान छ । जिल्ला अस्पतालबाट चिकित्सकको विज्ञ टोली शिवराज अस्पताल पठाइएको छ ।

२०,आश्विन.२०७८,बुधबार १०:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्