
विराटनगर । प्रदेश १ मा नवनिर्मित प्रदेशसभा भवनको उद्घाटन गरिएको छ । बुधबार एक समारोहका बीच मुख्यमन्त्री भीम आचार्यले दुई करोड ५९ लाख रुपैयाँको लागतमा निर्मित प्रदेशसभा भवनको उद्घाटन गरेका हुन् ।
नयाँ भवनमा प्रदेशसभाको दिउँदे अधिवेशन शुरु हुँदैछ । नवौं हिउँदे अधिवेशनका लागि असोज २२ गते बैठक आह्वान गरिएको छ ।
भवन निर्माणको ठेक्का स्वामी नारायण निर्माण सेवाले पाएको थियो । सम्झौताअनुसार निर्माण भएको भवनमा शौचालय भने छैन । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले भवन निर्माण गर्दा शौचालयको परिकल्पना नगरिएको बताए । बैठक हल नजिकै रहेको सचिवालयको शौचालय प्रयोग हुने उनले बताए । हलबाट सचिवालयसम्मका जानका लागि छानो हाल्नु पर्ने अवस्था रहेको उनले बताए ।
भवनको छानो फाइबरको छ । फाइबरको छाना केही समयअघि परेको असिनाले फुटेको थियो । प्रदेशसभा सचिव पराजुलीका अनुसार छाना फुटेपनि निर्माणकै क्रममा रहेकाले ठेकेदारले मर्मत गरेको बताए । नयाँ प्रविधि प्रयोग गरेको भन्दै उनले पछि छानो फेर्नुपर्ने अवस्था आउन सक्ने बताए ।
निर्माणमा दुई करोड ५९ लाख खर्च भएको भवनको आन्तरिक सजावट, फर्निचर र सजावटका लागि मात्रै ५० लाख ९७ हजार रुपैयाँ खर्च भएको छ ।
पराजुलीका अनुसार बैठक हलमा १६ लाख ४३ हजारको फर्निचर जडान गरिएको छ । बैठक हलमा साउण्ड सिस्टम जडान गर्दा १६ लाख ७७ हजार रुपैयाँ खर्च भएको उनले बताए । बैठक हलमा सबै टेबलमा माइक जडान गरिएको छ । आन्तरिक सजावटका लागि मात्रै १७ लाख ७६ हजार खर्च भएको छ । बैठक हलमा २० वटा एसी, ६० वटा पङ्खा पनि जडान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्