
काठमाडौं । न्यायको माग गर्दै नेपालगञ्जबाट पैदलयात्रामा निस्किएको टोली २० दिनमा काठमाडौं आइपुगेको छ । बाँकेमा भएका दुईवटा घटनाको सत्यतथ्य छानबिनको माग राखेर उनीहरुले असोज १ गतदेखि नेपालगञ्जबाट पैदलयात्रा शुरु गरेका थिए ।
पीडित र अधिकारकर्मीहरुको टोली बुधबार काठमाडौं आइपुगेको हो । अब बिहीबार सिंहदरबार गएर धर्ना दिने तयारी गरेको अधिकारकर्मी रुबी खानले बताइन् । पीडित र अधिकारकर्मी गरी १३ जनाको टोली न्यायको माग गर्दै नेपालगञ्जदेखि काठमाडौंसम्मको पैदल यात्रामा निस्किएको हो ।
टोलीले प्रधानमन्त्री कायाृलय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा दिने खानले जानकारी दिइन् । उनीहरुले बुटवलस्थित लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि पनि धर्ना दिएका थिए ।
गत साउन ६ गते बाँकेको जानकी गाउँपालिका–२ नेवाजीकी नन्कुन्नी धोबीको रहस्यमय मृत्यु र नेपालगञ्ज उपमहानगरपालिका परस्पुरकी निर्मला कुर्मीको अज्ञात अवस्थाबारे प्रहरीले खोजबिन नगरेको भन्दै मृतकका आफन्त र राष्ट्रिय महिला अधिकार मञ्च बाँके इन्चार्ज रुबी खान लगायतले आन्दोलन गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्