कैलालीमा सीमा नाका र बसपार्क क्षेत्रमा चेकजाँच गर्न तालिम प्राप्त कुकुरको प्रयोग
वि.सं.२०७८ असोज २१ बिहीवार १२:२७
shares

धनगढी। कैलालीमा तालिम प्राप्त कुकुरको प्रयोग गरेर सीमा नाका र बसपार्क क्षेत्रमा चेकजाँच गर्न थालिएको छ।
दशैँ, तिहार र छठ पर्वका बेला सीमा नाकाबाट हातहतियार र लागुऔषध जस्ता वस्तुको ओसारपसार हुन सक्ने कुरालाई मध्यनजर गर्दै चेकजाँचमा तालिम प्राप्त कुकुरको प्रयोग गरिएको कैलाली प्रहरीले जनाएको छ।
कैलालीका प्रमुख प्रहरी नायब उपरीक्षक (एसपी) विश्व अधिकारीले मंगलबारदेखि गौरीफन्टा नाका, धनगढी बसपार्क र अत्तरिया बसपार्कमा तालिम प्राप्त कुकुरको प्रयोग गरेर चेकजाँच गर्न थालिएको जानकारी दिए।
‘हामीले दशैँ तिहारका बेला हातहतियार तथा लागुऔषधको ओसारपसार अन्य समयको तुलनामा बढ्न सक्ने कुरालाई ध्यानमा राखेर सीमा नाका र बसपार्क क्षेत्रमा तालिम प्राप्त कुकुरको प्रयोग गर्न थालेका हौँ,’ एसपी अधिकारीले अनलाइनखबरसँग भने, ‘मंगलबारदेखि कुकुरको प्रयोग गरेर अहिले दैनिक चेकजाँच गरिरहेका छौँ ।’
अधिकारीले सीमा क्षेत्रमा हुन सक्ने अपराधिक गतिविधीलाई दृष्टिगत गरेर चेकजाँचमा थप कडाइ गरिएको पनि जनाए । दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरेर बनाइएको सुरक्षा योजनाअनुसार जिल्लाभर नै कडाइ गरिएको एसपी अधिकारी बताउँछन्।






















