कर्णाली सरकारले ५० डाक्टरलाई निशुल्क पढाउने, प्रतिजिल्ला पाँच डाक्टर बनाउने लक्ष्य

सुर्खेत । कर्णाली प्रदे्श सरकारले स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच पुर्याउने भन्दै चालु आर्थिक वर्षबाट कर्णालीका दश जिल्लाका पचास जनालाई एमबिबिएस अध्यापन गराउने भएको हो । सामाजिक विकासमन्त्री यज्ञ बहादुर बुढा क्षेत्रीका अनुसार प्रति जिल्ला पाँच जनाका दरले पचास जनालाई डाक्टर पढाउन तयारी थालिएको हो ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ देखि नै कर्णालीमा विभिन्न छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । दुर्गम छात्रवृत्ति, दलित छात्रवृत्ति, छोरी बुहारी छात्रवृत्ति, अपांगता भएकाहरुका लागि छात्रवृत्ति दिइरहेको सरकारले पचास जना डाक्टरका लागि छात्रवृत्तिमा पढाउन सुरु गर्ने निर्णय गरेको हो ।

यसअघि कम्तिमा २४ हजारदेखि एक लाख ३० हजारसम्मका दरमा मन्त्रालयले छात्रवृत्ति वितरण गरेको थियो । तर ती छात्रवृत्ति पाएकामध्ये अधिकांश सरकारको सम्पर्कमा छैनन् ।

‘हामी कर्णालीको स्वास्थ्य सेवालाई बलियो बनाउन प्रयासरत छौं । दक्ष जनशक्तिको अभावमा कर्णालीका नागरिकको ज्यान जान नपाओस भनेर यो योजना ल्याएका हौं’, दैलेखमा जिल्ला अस्पतालको भवन शिलान्यास गर्न गएका मन्त्री बुढाले भने ।

मन्त्रालयका योजना शाखा प्रमुख विनोद आचार्यले विभिन्न छात्रवृत्तिका लागि एक करोड रुपैयाँ विनियोजित भएको बताउँदै सोही रकमबाट डाक्टर पढाइने बताए ।

२२,आश्विन.२०७८,शुक्रबार ११:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्