सत्तारुढ गठबन्धनले न्यायपालिकाको कोटाबाट नेपालगञ्जका गजेन्द्र हमाललाई मन्त्री बनाउने

काठमाडौं । सत्तारुढ गठबन्धनले न्यायपालिकाको कोटाबाट नेपालगञ्जका गजेन्द्र हमाललाई मन्त्री बनाउने भएको छ । हमाललाई प्रधानमन्त्री शेरवहादुर देउवाको सचिवालयबाट मन्त्रीको सपथका लागि तयार रहन खबर गइसकेको स्रोतले जनाएको छ ।

हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाइने भएको छ । नेपाली कांग्रेस बाँकेका पूर्वसभापति रहिसकेका हमाल पछिल्लो समय कांग्रेस राजनीतिमा त्यति सक्रिय छैनन् । तर, उनलाई प्रधानन्यायाधीशको नाता लगाएर न्यायपालिकाको भागबण्डामा मन्त्री बनाउन लागिएको हो ।

सर्वोच्च अदालतमा सत्ता गठबन्धनका दलहरूको आधिकारिकता विवाद, माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दा तथा संवैधानिक नियुक्ति बदरलगायतका मुद्दाहरू विचाराधीन रहेकाले न्यायपालिका कम्फरटेबल बनाउन हमाललाई मन्त्री बनाउन लागिएको हो ।

हमाल सांसद नभएकाले उनी बढीमा ६ महिना मन्त्री बन्न पाउनेछन् । उनले मन्त्रीमा निरन्तरता पाउनका लागि यसबीचमा सांसद हुनुपर्नेछ । माघमा हुने राष्ट्रियसभाको निर्वाचनमा हमाललाई सांसद बनाउनेबारेमा समेत छलफल चलिरहेको छ ।

असार २८ को फैसलामा संलग्न अन्य न्यायाधीशको कोटाबाट पनि राजदूत र संवैधानिक नियुक्तिमा भाग दिने समझदारी सत्तारुढ गठबन्धनमा बनेको छ ।

२२,आश्विन.२०७८,शुक्रबार १५:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्