तिकुनियामा किसानलाई गाडीले किचेको मुद्दामा पक्राउ परे भारतीय गृह राज्यमन्त्रीका छोरा

एजेन्सी । भारतमा केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्रा टेनीका छोरा आशिष मिश्रालाई प्रहरीले पक्राउ गरेको छ।

उत्तर प्रदेशको लखिमपुर खिरी जिल्लाको तिकुनियामा आफ्ना बुवालाई कालो झन्डा देखाउन खोज्ने किसानलाई गाडीले किचेर मारेको आरोपमा मिश्रालाई पक्राउ गरिएको बिबिसी हिन्दीले जनाएको छ। तिकुनिया कैलाली जिल्लाको सीमावर्ती क्षेत्र हो।

शनिबार लगभग १२ घन्टा सोधपुछ गरेपछि मिश्रालाई पक्राउ गरिएको उत्तर प्रदेशका डिआइजी उपेन्द्र अग्रवालले जानकारी दिएका छन्। प्रहरीले सोधपुछ गर्दा मिश्राले जवाफ दिन आनाकानी गरेको र अनुसन्धानमा असहयोग गरेको भन्दै उनलाई हिरासतमा लिइएको हो।

गृह राज्यमन्त्री मिश्राका छोरालाई हत्या, हत्याको योजना बनाएको लगायत विषयमा मुद्दा दर्ता गरिएको छ।

भएको के थियो?

अघिल्लो आइतबार तिकुनियामा भएको एउटा हिंसात्मक घटनामा ८ जनाको मृत्यु भएको थियो।

एनडिटिभीका अनुसार आइतबार तिकुनियामा एउटा कार्यक्रम आयोजना गरिएको थियो। तिकुनिया केन्द्रीय गृह राज्यमन्त्री मिश्राको पुर्ख्यौली घर भएको ठाउँ हो। उक्त कार्यक्रमा उनी र उत्तर प्रदेशका उपमुख्यमन्त्री केशव मौर्य सहभागी हुन जान लागेका थिए।

केन्द्रीय सरकारले ल्याएका तीन वटा विधेयकको केही समयदेखि विरोध गरिरहेका किसानहरूले उपमुख्यमन्त्री र केन्द्रीय गृह राज्यमन्त्रीलाई कालो झन्डा देखाउने कार्यक्रम राखेका थिए। कालोझन्डा देखाउने थाहा पाएपछि मिश्रा र मौर्यले रूट बदलेका थिए। ​

उनीहरूले रूट बदलेको थाहा पाएपछि फर्किन लाग्दा राज्यमन्त्री मिश्राका छोराले चलाएकोसहित गाडीहरू आएको देखेपछि किसानहरूले उनीहरूलाई नै कालो झन्डा देखाएको आन्दोलनरत किसानले जनाएका छन्। त्यसपछि मन्त्री मिश्राका छोराले कालो झन्डा देखाउने र अरू किसानमाथि गाडीले कुदाएको किसानहरूको आरोप छ।

गाडीले किच्दा चार जना किसानको मृत्यु भएको छ।

आफ्ना साथीहरू मारिएपछि आक्रोशित बनेका किसानले ती गाडीमा आगो लगाइदिएका थिए भने त्यसमा सवार चार जनालाई कुटपिट गरेका थिए। कुटपिटबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक चालक र तीन जना भारतीय जनता पार्टीका कार्यकर्ता भएको उल्लेख गरिएको छ।

किसानलाई मन्त्रीका छोराको गाडीले किचेर मारेको घटनाले भारतको केन्द्रीय राजनीतिमा तरंग आएको छ। प्रतिपक्षी कंग्रेस आईलगायत दल तथा समाजका विभिन्न पक्षबाट दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ।

२४,आश्विन.२०७८,आईतवार ०८:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्