काठमाडौं महानगरको ८ तले भवन विद्यासुन्दर शाक्यले गरे शीलान्यास

काठमाडौं । काठमाडौं महानगरपालिकाको आफ्नै सुविधासम्पन्न भवन बन्ने भएको छ । भूमिगत तलासहितको ८ तले भवनको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शीलान्यास गरे ।

हालको वातावरण विभाग रहको जमिनको करीब ६ रोपनी क्षेत्रफलमा भवन भन्न लागेको हो । भवनको शीलान्यास गर्दै प्रमुख शाक्यले आफ्नो कार्यकालमा सबै वडाका वडा कार्यालय भवनको पुनर्निमाण र नयाँ निर्माणलाई सम्पन्न गर्ने प्रतिवद्धता अनुसार नै महानगर कार्यालय भवन बनाउन लागिएको जानकारी दिए ।

‘हामी निर्वाचित भएर आएपछिको पहिलो बैठकमा काठमाडौं महानगरपालिका कार्यालय र सबै वडाका कार्यालय भवनको पुनर्निमाण र नव निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने घोषणा गरेका थियौँ,’ शाक्यले भने, ‘आज केन्द्रीय भवनको यहाँ शीलान्यास भयो । उद्घाटन हाम्रो यो कार्यकालमा हुँदैन । तर, अहिले हामीले गरेका काम स्थानीय सरकारको जग हुन् ।’

उनले हरिभवनलाई बागदरबार भनेर विवाद झिक्दै त्यहाँ भवन निर्माण गर्न नदिएकोप्रति पनि गुनासो गरे । राम्रो कामको सुरुवात गर्न समयसीमा नुहने भन्दै आफ्नै कार्यकालमा शीलान्यास हुँदा खुशी लागेको उनले बताए । ‘रुख रोप्नु ठूलो कुरा हो,’ उनले थपे, ‘फल कस्ले खान्छ भन्ने ठूलो कुरा होइन ।’

उनले सेवाग्रहीले सेवा लिने ठाउँ सेवाग्राही मैत्री हुनुपर्छ भनेर नै सबै वडा भवन नेपाली परम्परागत शैलीको निर्माण गरिरहेको जानकारी दिए । ‘अहिले महानगरपालिकाका कार्यालय धेरै ठाउँमा छरिएर रहेकाले सेवाग्राहीलाई सेवा लिन समस्या हुँदै आएको छ,’ शाक्यले भने, ‘हामीले एउटै थलोबाट भोलि होइन आज, आज होइन अहिले नै सेवा दिनुपर्छ भन्ने प्रतिवद्धता अनुसारको सेवा दिन सकिरहेका थिएनौं । अब यो भवन निर्माणपछि सेवा सहज र सुलभ हुने र सबैले एउटै स्थानबाट सेवा प्राप्त गर्ने अपेक्षा गरेका छौं ।’

उनले निरन्तर जनताको सेवामा रहने हो भने राजनीतिमा पूर्णविरामा नहुने पनि प्रष्ट पारे । ‘म जनताको चाहनाले मेयर भनेको हुँ,’ उनले भने, ‘त्यसैले जनताको सेवा गर्दा केही विवाद आउँछन् । ती विवादबाट भागेर होइन व्यवस्थापन गरेर अघि बढ्नुपर्छ ।’

महानगरपालिकाले दिएको जनकारी अनुसार करीब ६ रोपनी क्षेत्रफलमा बन्ने सो भवनको भूमिगत तलामा ३० वटा गाडी र ८० वटा मोटरसाइकलका लागि पार्किङको व्यवस्था गरिएको छ । भूकम्प प्रतिरोधी सो भवनको भवन मापदण्ड अनुसार वरीपरी ५ मिटर छाडिएको छ भने भूमिगत तलामा भविष्यमा थप २५ वटा गाडी मेकानिकल प्रविधिबाट थप गर्न सकिने छ ।

काठमाडौं महानगरपालिका शहरी योजना आयोगमा उपाध्यक्ष सरोज बस्नेतले काठमाडौं महानगरपालिकाको पहिचान तथा वास्तुशैलीलाई ध्यानमा राख्दै समय सापेक्ष ढंगबाट सो भवनको डिजाइन तयार गरिएको जानकारी दिए । ‘काठमाडौं महानगरपालिकामा प्रचलित परम्परागत चोकको अवधारणामा आधारित डिजाइन तयार गरेका छौं,’ बस्नेतले भने, ‘प्रत्येक तल्लामा कार्यालयहरू, बैठक हल, प्रशासन÷ कर्मचारी÷ आगन्तुक एवं कार्यालय सञ्चालन र मर्मतका लागी आवश्यक स्थान छुट्याइएको छ । त्यसैगरी पहुँचयोग्य शौचालयको सुविधा र विपदको समयमा प्रयोग गर्न सकिने गरि आपतकालीन मार्ग तथा सुरक्षित भर्‍याङ रहेका छन् ।’

त्यसैगरी आकाशे पानी संकलन तथा पर्याप्त फिल्टरेशन प्रणाली सहितको रिचार्ज पिट समावेश गरिएको पनि महानगरपालिकाले जानकारी दिएको छ । ‘भवनको जमिन तलादेखि सता तलासम्म कार्यालय प्रयोजनका लागि प्रयोग हुने छ भने आठौं तलामा २ सय जना क्षमताको र १ सय जना क्षमताको छुट्टाछुट्टै हल निर्माण गरिने छ,’ काठमाडौं महानगरपालिकाका वरिष्ठ इन्जिनियर प्रेमबहादुर श्रेष्ठले भन्नुभयो, ‘भवनको मोहोडा आधुनिक शैलीको हुनेछ । यो भवन ९२ हजार ६८ वर्गफिटको निर्माण हुँदैछ ।’

उहाँले दिएको जानकारी अनुसार भवन अपांग र जेष्ठ नागरिकमैत्री हुनेछ । ‘अपांगता भएका र जेष्ठ नागरिकका लागि १० जना क्षमताका दुई वटा लिफ्ट हुनेछ,’ उनले थपे,’ ‘यो भवन २०८० असोज मसान्तासम्ममा सम्पन्न गर्ने गरी ठेक्काको जिम्मा समानान्तर निर्माण सेवा प्रालीले पाएको छ ।’

भवनको कार्यादेश ६९ करोड ५८ लाख १९ हजार ३ सय ५९ रहेको छ । भवनको डिजाइन सहरी योजना आयोग र सिनर्जी इन्जिनियरिङ प्रालीले तयार पारेको हो ।

२५,आश्विन.२०७८,सोमबार ११:३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्