देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तिमा सात जनाको मृत्यु

Ashish Gautam
ashish@nepalijanta.com

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तिमा सात जनाको मृत्यु भएको छ । बाराको कोल्हबी नगरपालिका-२ भिमसखुवास्थित सडकमा बा.१९ च ४५११ नम्बरको कारले ना.५९ प १२७० नम्बरको मोटरसाइकललाई बुधबार बेलुकी ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका पुरानो कांटा बस्ने ३८ वर्षीय पेमा दोर्जे घिसिंग र ४० वर्षीय डेनी स्याङताङको घटनास्थलमै मृत्यु भएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता, सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका-८ खाडोखोलास्थित सडकमा ना.१ ज ७४१८ नम्बरको माईक्रोबस र स.२ प ३४८९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार हनुमाननगर कंकालनी नगरपालिका-५ बगमपट्टी बस्ने २० वर्षीय समित्र कुमार सिंहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नरायण सिंह अस्पताल राजबिराज हुँदै थप उपचारको लागि बिराटनगरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका-१० ईनरवा बस्ने २२ वर्षीय अरविन खंगको गजेन्द्र नरायण सिंह अस्पताल राजबिराजमा उपचार भइरहेको छ । हाल फरार रहेका माईक्रोबस चालकको प्रहरीले खोजी गरिरहेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ मास्टर चोकस्थित सडकमा प्रदेश ०२-०३-००१ त १०३ नम्बरको धान काट्ने थ्रेसर गाडी आफैँ अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा गाडीका साहु पर्सा सखुावा प्रसौनी गाउँपालिका-४ बस्ने ५५ वर्षीय रुस्तम मिया अन्सारीको मृत्यु भएको छ । दुर्घटनामा च्यापिएको अवस्थामा रहेका उनको उद्धार गरी हेटौंडा अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै, सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१ घोडालोटेस्थित सडकमा भे.१ त ५३ नम्बरको ट्याक्टर र कर्णाली प्रदेश-००१ प ९१४२ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-२ कोलडाँडा बस्ने ४० वर्षीय प्रेम बहादुर सिजापतिको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारकोक्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पर्साको वीरगञ्ज महानगरपालिका-४ बिर्तास्थित सडकमा ना.१४ च ४१६४ नम्बरको कारको ठक्करबाट सोही महानगरपालिका-३ छप्कैया बस्ने सफरोज मियाकी छोरी १५ महिनाकी लउवा खातुनको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो पनि पढ्नुहोस  कुलमानले आग्रह गरे,- 'ऊर्जा, 'जलस्रोत तथा सिंचाइमन्त्री र आफूलाई जोडेर आधार तथा तथ्यहीन गलत सूचना र समाचार सम्प्रेषण नगरिदिनु'

यता, नवलपरासी (पूर्व) देवचुली नगरपालिका-१६ रजहर चोकस्थित सडकमा लु.२२ प ६७६९ नम्बरको मोटरसाइकल र बाग्मती प्रदेश ०३-००३ प १५२६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा सोही ठाउँ बस्ने ३६ वर्षीया नैना बस्ताकोटीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बाग्मती प्रदेश ०३-००३ प १५२६ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-१ बस्ने ४० को ज्ञान प्रसाद बस्ताकोटी समेत ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बाँकेको नेपालगंज उपमहानगरपालिका-१८ भाटभटेनीस्थित सडकमा भे.६ प ६२३५ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुषको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि नर्सिङ होम नेपालगंजतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१९ आलानगर बस्ने ३० वर्षीय नवीन भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले उद्धार एवं आवश्यक अनुसन्धान गरिरहेको छ ।

२८,आश्विन.२०७८,बिहीबार १३:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: