प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुर–१ च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रा मध्यरातिदेखि शुरु

भक्तपुर । प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुर–१ च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रा मध्यरातिदेखि शुरु भएको छ ।

नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रम्हायणी मन्दिरमा नवदुर्गा प्रकट हुने जनविश्वासअनुरुप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ ।

ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुर थिमी, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नंखेल, गुण्डुलगायत काभ्रे, ललितपुर र काठमाडौंदेखिका भक्तजन आउने गर्दछन् । मन्दिरमा जमरा, हाँसको फुल, हाँस, बोका, कुखुराको भालेको बलिसमेत दिने गरिन्छ ।

व्रत बसेकाहरू बिहानै घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै शरीरमा ५, ७ र १८ वटा दियो बालेर जाने र पूजा गर्ने प्रचलन छ । यसो गरेमा मनोकाक्षा पूरा हुने र पाप नष्ट हुने जनविश्वास छ ।

गठेमंगलका दिन नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतीक खःमेय अर्थात राँगोलाई गएराति नवदुर्गा मन्दिरबाट जाँड खुवाएर मत्ताएर अबिर दलेर दौडाउँदै, लखेट्दै ब्रह्मायणी मन्दिर पुर्याएर बध गरेपछि रातिदेखि नै यो जात्रा शुरु हुने गर्दछ ।

यसैगरी नवमीको दिन मध्यराति मनाइने प्रसिद्ध खःमेय् अर्थात् राँगो जात्रा गएराति सम्पन्न भएको छ । धार्मिक एवं सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने सो जात्रा महिषासुर दैत्यको प्रतीकका रूपमा गठेमंगलका दिन राँगोलाई ल्याएर भक्तपुरको नवदुर्गा मन्दिर प्रांगणमा बाँधेर राख्ने र सोही राँगोलाई नवमीको राति बध गरी मनाइने परम्परा रहिआएको छ । राँगोलाई लखेट्दा दायाँबायाँ सुकुन्दा बालेर सँगै दौडिने परम्परा छ ।

महानवमीको राति नवौँ देवी त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानी पूर्ण हुने हुँदा परम्परागतरूपमा खःमेय्को बधजात्रा मनाउने प्रचलन रहेको स्थानीयवासीको भनाइ छ ।

बध गरिएको सो राँगोको मासुको टुक्रा प्रसादका रूपमा घरमा लगेर सुकुटी बनाई धूलो पारेर घ्यूमा मुछेर धूप बनाई बाल्ने गरिन्छ । लक्ष्मीपूजाका दिन सो धूप बालेमा भूतप्रेत नलाग्ने, शत्रुनाश हुने र घरमा लक्ष्मीबास हुने जनविश्वास छ ।

२९,आश्विन.२०७८,शुक्रबार १०:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्