माओवादी केन्द्रको सम्मेलनको तालिका हेरफेर

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले सम्मेलनको तालिकामा हेरफेर गरेको छ। मंगलबार बिहान पार्टी कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले सम्मेलनको तालिकामा हेरफेर गरेको हो।

बैठकले पार्टी सदस्यता नवीकरणका लागि कात्तिक २५ गतेसम्म म्याद थप गरेको छ भने टोल सम्मेलन कात्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म गर्ने गरी म्याद थप गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बताए।

उनले १४९ जनाको सल्लाहकार समिति बनाउने निर्णय भएको, ९९ जनाको ज्येष्ठ कम्युनिष्ट मञ्च बनाइएको, पेसलकुमार पोखरेलको अध्यक्षतामा २५ सदस्यीय लेखा आयोग बनाइएको, टंक राईको अध्यक्षतामा २५ जनाको अनुशासन आयोग बनाइएको र १७५ जनाको विशेष समिति बनाइएको पनि बताए।

प्रवक्ता महराले भने, ‘आजको बैठकले सम्मेलनको तालिकामा केही हेरफेर गरेको छ, राष्ट्रिय सम्मेलनको होइन, अन्य कामहरूको बारेमा, पार्टी सदस्यता नवीकरणको विषयमा कात्तिक २५ गतेसम्म म्याद थपिएको छ, टोल सम्मेलन कात्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म म्याद थपिएको छ।’

उनले थपे, ‘संगठनसम्बन्धी केही निर्णय भएका छन्, १४९ जनाको सल्लाहकार समिति बनाइएको छ, ज्येष्ठ कम्युनिष्ट मञ्च बनाइएको छ ९९ जनाको, विष्णुप्रकाश श्रेष्ठको अध्यक्षतामा निर्वाचन आयोग पहिल्यै बनाइएको छ, लेखा समिति २५ जनाको, पेसलकुमार पोखरेलको अध्यक्षतामा २५ सदस्यीय लेखा आयोग, टंक राईको अध्यक्षतामा २५ जनाको अनुशासन आयोग बनाइएको छ, भूगोलभन्दा बाहिर काम गर्ने साथीहरूको विशेष समिति १७५ जनाको बनाइएको छ, हामीले हाम्रो पार्टीमा प्रवेश गरेका विभिन्न सांगठनिक कुराहरूको बारेमा पनि छलफल भएको छ, यसमा कार्यदलले एउटा प्रतिवेदन प्रस्तुत गरेको छ, प्रतिवेदनमा विभिन्न ४५ साना ठूला दलले निर्णय गरेका छन्, त्यस निर्णयअनुसार कार्यदलले गरेको छलफललाई अनुमोदन गरेको छ।’

माओवादी केन्द्रको अर्को स्थायी कमिटीको बैठक कात्तिक ४ गते बिहीबार बिहान ८ बजे बस्ने प्रवक्ता महराले बताए।

२,कार्तिक.२०७८,मंगलवार १३:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्