
विराटनगर । सोमबार रातिदेखि परेको अबिरल वर्षाले विराटनगर डुबानमा परेको छ। पानीको निकास थुनिँदा विराटनगरको दक्षिण क्षेत्र डुबानमा परेको हो।
सडकमा पानी जमेर आवतजावतमा समेत समस्या उत्पन्न भएको छ। लगातारको वर्षाको कारण केसेलिया खोलाको बाढी विराटनगर १२ को बखरी, दरैया, बराहा टोल, मलौना, सिमराहीका करिब पाँच सय घर डुबानमा परेको १२ का वडाअध्यक्ष हिरालाल कामतले जानकारी दिए।
घर डुबानमा परी विस्थापित भएका परिवारका सदस्यहरू अहिले विराटनगर १२ मा रहेको सामुदायिक भवन र बखरी स्कुलमा बसेका छन्। कसेलिया खोलामा आएको बाढी ‘ओभरफ्लो’ भएर विराटनगरका विभिन्न स्थानमा पसेको थियो।
प्रहरीका अनुसार बाढीले विराटनगरको उत्तरी, दक्षिणी र पश्चिमी भेगमा बढी वितण्डा मच्चाइरहेको छ।
खोलाको बाढी बस्तीमा पसेपछि विराटनगर १२ बखरीका सर्वसाधारणबीच भागदौड मच्चिएको थियो। एक्कासि आएको बाढीले घर डुबाउन थालेपछि सर्वसाधारण आफ्नो ज्यान जोगाउन अतिआवश्यक सामग्री बोकेर आफन्तको शरणमा र सामुदायिक भवनमा सरेका छन्।
‘घरभित्र केसेलिया खोलाको बाढी पसेपछि रातिदेखि सुत्न सकेको छैन,’ विराटनगर १२ बखरीकी अनितादेवी कामतले भनिन्, ‘साना छोरा छोरीलाई बल्ल तल्ला झिकेर बाहिर निकाले। अरु केही सामान झिक्न पाएको छुइनँ। अहिले घरमा पानी पसेर जलमग्न छ।’
लगातारको वर्षाका कारण खोलामा आएको बाढीले विराटनगरका १२, १५, १६, १७, १८ अधिकांश घर डुबानमा परेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए।
एसपी जिसीले प्रहरी बाढीपीडितको उद्दारमा व्यस्त रहेका कारण बाढीले कति क्षति पुर्यायो भन्ने कुराको यकिन विवरण प्राप्त हुन सकेको छैन।
बाढी पीडितको उद्दारका लागि प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन्। विराटनगरस्थित शनिमन्दिर चोक, पिचरा लगायतका क्षेत्रको अधिकांश सडक पानीले भरिएका छन्।
प्रतिक्रिया दिनुहोस्