सत्ता गठबन्धनको बैठकलगत्तै प्रधानन्यायाधीशको निवासमा प्रचण्ड,राजनितिक र कानुनी क्षेत्रमा हलचल ?

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सकिएलगतै गठबन्धन भित्रका नेता पुष्पकमल दाहाल (प्रचण्ड)ले बुधवार साँझ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासँग एक्लै भलाकुशारी गरेको कुरा बाहिरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारबाट प्रचण्ड त्यही कम्पाउण्डमै रहेको प्रधानन्यायाधीशको निवासमा छिरेको सुरक्षा स्रोतले जनाएको छ ।

त्यसअघि बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु शेरवहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल,डा‍. बाबुराम भट्टराईलगायतको छलफल चलेको थियो । शीर्ष नेताको छलफलपछि प्रचण्ड एक्लै प्रधानन्यायाधीशको निवासमा गएको बताइएको छ ।

प्रधानन्यायाधीश राणाविरुद्ध कांग्रेस र माओवादी निकट वरिष्ठ अधिवक्ता र नेपाल बारका पदाधिकारीहरुले समेत महाअभियोगसम्म लगाउनुपर्ने अभिव्यक्ति दिइरहेका बेला सत्ता गठबन्धनका शीर्ष नेतासँगको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

सत्तामा भागबण्डा खोजेको आरोप राणामाथि उनीहरुले लगाएका छन् । तर असार २८ गतेको परमादेश जारी गर्ने अन्य चार न्यायाधीशले राणाविरुद्ध सत्तानिकट वकिलहरु प्रयोग गरेको आरोप छ । भागबण्डामा हिस्सेदारी भने उनीहरुले समेत पाउने समझदारी बनेको यसअघि नै खुलिसकेको छ ।

अदालतमा अहिले पनि सत्ता गठबन्धनसँग सम्बन्धित मुद्दाहरु विचाराधीन छन् । बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल र बाबुराम गाँसिएको मुद्दाको फैसलाको मितिसमेत कात्तिक १५ लाई तोकिएको छ । सो मुद्दा राणा आफैंले हेरेका छन् ।

आजबाट १५ दिन लामो विदापछि अदालत खुल्दैछ । अदालतमा राणालाई छिर्न नदिने अभिव्यक्तिसमेत सत्तानिकट वकिलहरुले दिएका छन् ।

४,कार्तिक.२०७८,बिहीबार ०९:२२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्