काठमाडौंको तापक्रम हिजोभन्दा आज १ डिग्री कम, मौसमविद् भन्छन्- पर्दैन ठूलो पानी

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारको तुलनामा शुक्रबार १ डिग्री सेल्सियस तापक्रम घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार काठमाडौंको न्यूनतम तापक्रम १६.५ डिग्री थियो भने शुक्रबार १५.४ छ।

तापक्रम घटेको र बादल पनि लागेकाले उपत्यकामा चिसो महशुस भएको महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताएका छ। अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

मौसमविद् श्रेष्ठका अनुसार बादल लागे पनि आज-भोलिमा ठूलो वर्षा हुने सम्भावना छैन।

‘शुक्रबार प्रदेश १ र २ का केही स्थानमा हल्का वर्षा हुने देखिन्छ। शनिबार बागमती र गण्डकी प्रदेशका केही स्थानमा पानी पर्ने देखिन्छ,’ मौसमविद् श्रेष्ठले भने,‘कुनै मौसमी प्रणाली नभएकाले ठूलो वर्षा हुने सम्भावना छैन।’

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

२०७८ कात्तिक ५ गते (शुक्रबार)

दिउँसो: प्रदेश न १, प्रदेश न २, वागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहने छ ।प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०७८ कात्तिक ६ गते (शनिबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिकदेखि सामान्य बदली रहने छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०७८ कात्तिक ७ गते (आइतबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

५,कार्तिक.२०७८,शुक्रबार ०८:५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्