आइतबार रातिदेखिको लगातार परेको अविरल वर्षाका कारण पानीको मुहान बगाएपछि सिमकोटमा खानेपानीको हाहाकार

हुम्ला । आइतबार रातिदेखिको लगातार परेको अविरल वर्षाका कारण खानेपानीको मुहान पहिरोले बगाएपछि यहाँ खानेपानीको चरम हाहाकार भएको छ ।

पहिरोले हुमाने तथा छ्याल्दर खोलामा रहेको मुहानलाई बगाएको थियो । अहिले सदरमुकामवासीलाई तीनधारा र सिमसार क्षेत्रमा रहेका धारामा घण्टौँसम्म लाइन बसेर पानी थाप्नुपर्ने अवस्था सिर्जना भएको छ ।

बाढीले बगाएको खानेपानी मर्मतका लागि नेपाली सेना र खानेपानी उपभोक्ता समितिका कर्मचारी मर्मतसम्भारमा लागि परेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार खानेपानीको मुहान मर्मत गर्न अझै एक हप्ता बढी लाग्ने भएको छ ।

यसैगरी अविरलको वर्षाले खानेपानी तथा सिँचाइका संरचना बाढीले बगाएपछि खार्पुनाथ गाउँपालिका-२ थालीका ३० घरधुरी र सिमकोट गाउँपालिका-१ का २५ घरधुरीले खोलाको धमिलो पानी प्रयोग गर्दै आएका छन् ।

सिमकोट-१ कुम्लिङ गाउँका ती घरपरिवारले प्रयोग गर्दै आएको खानेपानीको संरचनालाई मङ्गलबार राति आएको बाढी पहिराले बगाएको थियो । अहिले खोलामा बगिरहेको धमिलो पानी पिउन बाध्य भएको स्थानीयवासी अविराज हमालले बताए ।

खानेपानी, सिँचाइसँगै करिब पाँच हल खेतीयोग्य जमिन बगाएको उनले जानकारी दिए । खार्पुनाथ २ थालीका स्थानीयवासीलाई खानेपानी लिनका लागि गाउँभन्दा टाढा जानुपर्ने अवस्था सिर्जना भएको स्थानीय मुनसिङ्गे दमाईंले बताए ।

उनले भने, ‘गाउँमा निर्माण भएका धारामा पानी आउँदैन, पानी आउने मुख्य मुहान नै बाढीले बगाएको छ । यहाँका ३० घरपरिवारले खानेपानी ल्याउनका लागि गाउँ नजिकका खोलामा गएर धमिलो पानी थाप्नुपर्ने अवस्था छ।’

५,कार्तिक.२०७८,शुक्रबार १३:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्