
रौतहट । बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्याएकाले किसानहरुलाई तत्काल राहत उपलब्ध गराउन आईटी किसान संघर्ष समितिले माग गरेको छ ।
केही दिनअघि परेको वर्षाका कारण किसानले खेतमा लगाएका धानबालीमा व्यापक क्षति भएको छ । वर्षा तथा हावाहुरीका कारण धानबाली नष्ट भएपछि किसानहरु पीडित बनेका छन् । धान रोप्ने बेला सिँचाइ तथा मलखाद्यको अनेकौं अभाव भोगेर खेती गरेका किसान फल काट्ने बेला धानबाली बर्बाद भएको चोट सहन गर्नै नसक्ने पीडामा छन् ।
भित्र्याउनका लागि तयार तथा काटेर राखेको धान पानीले भिजाएर नष्ट बनाएको भन्दै संघर्ष समितिले किसानका लागि राहतको प्याकेज घोषणा गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।
संघर्ष समितिले यसअघि पनि किसानहरुलाई मलखाद्यको व्यवस्था, कृषि बीमा तथा ट्रयाक्टरमा लाग्ने कर छुटका लागि सरकारलाई दबाब दिन रौतहटमा प्रदर्शन गरेको थियो ।
पीडित धान किसानहरुलाई राहतका प्याकेज उपलब्ध नगराए आन्दोलन गर्ने समितिले चेतावनी समेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस्