राष्ट्र बैंकले यसरी गरो आठ वाणिज्य बैंकका सञ्चालकदेखि सीईओसम्मलाई कारवाही

काठमाडौं । पटक-पटक निर्देशन उल्लङघन गरेको अभियोगमा नेपाल राष्ट्र बैंकले ८ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंक सुपेरीवेक्षण विभागले आर्थिक वर्ष २०७७/०७८ मा राष्ट्र बैंकले जारी गरेका विभिन्न निर्देशन उल्लङघन गरेपछि ८ वटा बाणिज्य बैंकका सञ्चालकदेखि सीईओसम्मलाई कारवाही गरेको हो ।

जसमध्य गत आर्थिक बर्षको चौथो त्रैमासमा नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले जारी गरेका एकीकृत निर्देशनविपरीत काम गरेको भन्दै नेपाल बंगलादेश बैंक, प्रभु बैंक र हिमालयन बैंकलाई कारवाही गरेको हो ।

राष्ट्र बैंकले अनिवार्य मौज्दात कायम नगरेको, विपन्न वर्ग कर्जा पर्याप्त प्रवाह नगरेको, प्राथमिकता प्राप्त कर्जा पर्याप्त प्रवाह नगरेको र सीसीडी अनुपात कायम नगरेकाले यी बैंकहरुलाई कारवाही गरेको जनाएको छ । राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई कुल निक्षेपको चार प्रतिशत राष्ट्र बैंकमा अनिवार्य नगद जम्मा गर्नुपर्ने व्यवस्था गरेकोमा सो नगरेकाले जरिवाना तिराएको हो ।

राष्ट्र बैंकले चौथो त्रैमासमा नेपाल बंगलादेश बैंकलाई ३० हजार ३२४ रुपैयाँ नगद जरिवाना गरेको छ । प्रभु बैंकलाई ३५ हजार ६९५ रुपैयाँ नगद जरिवाना गरेको हो । हिमालयन बैंकलाई भने दुई पटक जरिवाना लगाएको छ । हिमालयन बैंकलाई प्रथम पटक १७ हजार १२२ रुपैयाँ र दोस्रो पटक १२ हजार ८९९ रुपैयाँ नगद जरिवाना गरेको नेपाल राष्ट्र बैंकको बैंक सुपेरीवेक्षण विभागले जनाएको छ ।

तेस्रो त्रैमासमा सिभिल बैंकलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन उलंघन गरेको भन्दै १० लाख जरिवाना गरेको हो । यस्तै सोही त्रैमासमा बैंकलाई राष्ट्र बैंकले ऋणीसँग अप्रत्यक्ष रुपमा कारोबार गरेको बैंकका अध्यक्ष इच्छाराज तामाङलाई नसिहत दिइएको केन्द्रीय बैंकले जनाएको छ ।

तेस्रो त्रैमासमा नै राष्ट्र बैंकले प्रभु बैंकले राष्ट्र बैंकको एकीकृत निर्देशनमा गरेको व्यवस्था विपरित प्रभु बैंक, प्रभु मनि ट्रान्सफरबीच कारोबार गरेको भन्दै बैंकको तत्कालीन सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

बैंकका तत्कालीन अध्यक्ष देवी प्रकाश भट्टचन, सञ्चालकहरु शंकरप्रसाद कालिकोटा, रमेश सिंह खड्का, अम्बिका शर्मा लामिछाने, पुष्पबहादुर प्रधान, दक्ष पौडेल र सीईओ अशोक शेरचनलाई सचेत गराएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

त्यस्तै केन्द्रीय बैंकले दोस्रो त्रैमासमा स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाह नगरेको भन्दै ५७ लाख ८४ हजार ६१७ रुपैयाँ जरिबाना गरेको छ । यस्तै बैंकलाई अन्य कारवाहीस्वरुप सचेतसमेत गराएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले आर्थिक वर्षको प्रथम त्रैमासमा लक्ष्मी बैंकले सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन र निर्देशनको पालन नगरेको भन्दै २० लाख रुपैयाँ नगद जरिवाना गराएको जनाएको छ ।

८,कार्तिक.२०७८,सोमबार २२:१२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्